• ९ पुस २०८१, मङ्गलबार

प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

blog

एक हजार जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : स्वास्थ्य मन्त्रालय

काठमाडौं, माघ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गर्नुभएको छ ।

एक हजार जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले केन्द्रलाई भक्तपुरको सल्लाघारीमा ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “म प्रधानमन्त्रीको रुपमा रहँदा केन्द्रलाई ९९ रोपनि जमिन दिने निर्णय गरेको थिए । त्यो काम त्यतिकै रोकिएको रहेछ । फेरि सरकारमा आएको छु । क्याबिनेटबाट निर्णय गरेर छिटोभन्दा छिटो जग्गा उपलब्ध गराउने प्रतिबद्धता गर्छु ।”

केन्द्रमा बिरामीको चाप भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशमा सेवा विस्तार गर्न आवश्यक उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउने कुरामा गम्भीर भएको बताउनुभयो ।

नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । त्यसमा केन्द्रले दुई सय गर्दै आएको छ भने बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गाैला प्रत्यारोपण गर्दै आइएका छन् ।

त्यस्तै, स्वास्थ्य मन्त्री पदम गिरीले किड्नी लगायतका बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यता कम गर्न सातै प्रदेशका मुख्य अस्पतालबाट सेवा विस्तार गर्ने बताउनुभयो ।

गुरस्तरीय स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने अवस्थाको अत्य गर्ने सबै एकताबद्ध भएर अगाडि बढ्न मन्त्री गिरीले आग्रह गर्नुभयो । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सचिव रोशन पोखरेले प्रत्यारोपणका कार्यका लागि हाल सय बेड मात्र उपलब्ध भएकोले ३०५ बेडसम्म सञ्चालन गर्नका लागि सरकारले बेड उपलब्ध गराउनुपर्ने जिकिर गर्नुभयो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।