• ४ पुस २०८१, बिहिबार

१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बिहीबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका शव पहिचानको स्थितिबारे जानकारी लिनुका साथै मृतकका आफन्तसँग भेट गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, माघ ५ गते। गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ।

माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो।

काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ।

जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ। पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ। पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ। 

चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा  ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजी जारी रहेको छ। रासस