• १२ साउन २०८१, शनिबार

सल्यानटारको माटोको उर्वराशक्ति घट्दो

blog

मुरारी अधिकारी

धादिङ, माघ ५ गते । जिल्लाको कृषि उत्पादनको हिसाब अति महत्त्वपूर्ण मानिने सल्यानटारको माटाको उर्वराशक्ति निकै ह्रास हुँदै गएको प्रमाणित भएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारमा गाउँपालिकाको सहयोगमा सल्यानटार साना किसान कृषि सहकारी संस्थाले गराएको माटो परीक्षणमा माटोको उर्वराशक्ति निकै ह्रास हुँदै गएको पत्ता लागेको माटो विज्ञ विष्णुप्रसाद चापागाईँ जानकारी दिनुभयो । पहाडी क्षेत्रमा खेतीयोग्य माटोको पिएच मान ८ हुनुपर्नेमा सल्यानटारको माटोको पिएच मान सरदर ४.५ देखिएको पनि माटो विज्ञ चापागाईँ बताउनुहुन्छ । किसानले कम्पोस्ट मलभन्दा बढी रासायनिक मलको मात्रा बढी प्रयोग गर्नाले यस्तो अवस्था देखा परेको विज्ञ चापागाईँको भनाइ छ ।

खेतीयोग्य माटोको नियमित परीक्षण र उपचार नगर्दा उत्पादनमा समस्या देखिएको कृषि प्राविधिकहरूको भनाइ छ । माटो कै उर्वराशक्ति कम छ तर बीउ र मलखादको गुणस्तरमा दोष देखाउने गरिएको पनि माटो विज्ञ चापागाईँले बताउनुभयो । नेपाल सरकारले सिफारिस गरेको कृषि चुन प्रयोग गरी माटोको उपचार गरे पुनः उर्वराशक्ति बढ्ने पनि चापागाईँ बताउनुहुन्छ । माटो परीक्षणमा सहभागी माटो विज्ञ बद्रीनारायण महतो केही समय अगाडि तराई क्षेत्रमा यस्तो भयावह अवस्था देखिएको त्यसपछि सल्यानटारमा माटोको उर्वराशक्ति निकै कमी भएको भेटिएको बताउनुभयो । 

सल्यानटारमा एकै दिनमा २ सयभन्दा बढी किसानको बारीको माटो परीक्षण गर्दै सबैको ५ भन्दा कम पिएच आएको महतोको भनाइ छ । महतोले पिएच सँगै नाइट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून रहेको बताउनुभयो ।

समयमा नै माटोको उपचार गरिएन भने उत्पादनमा दिनदिनै ह्रास आउने विज्ञहरूको भनाइ छ । किसानको माटोको उर्वराशक्ति घट्दै गएकोमा चिन्दा व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सबै वडाको माटो परीक्षण गराउने र उपचारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । गाउँपालिकाले बनाएको योजनामा सहभागी हुन अध्यक्ष उप्रेतीले आग्रह समेत गर्नु भएको छ । 

विगत वर्षमा घैयाधान उत्पादनमा ह्रास आएपछि गाउँपालिकासँग सहकार्य गरेर माटो परीक्षण शिविर आयोजना गरेको सल्यानटार साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक सञ्जु श्रेष्ठले जानकारी दिनुभयो । यसै वर्ष सल्यानटारमा घैयाधान डढुवा रोगले सखाप पारेको थियो । विगत केही समयदेखि यहाँ कृषि उत्पादन अति न्यून हुँदा आएको थियो । सल्यानटार मास, भटमास, मकै खेतीका लागि अति प्रसिद्ध मानिन्छ ।