• १४ वैशाख २०८१, शुक्रबार

तारा एयर विमान दुर्घटनाको अनुसन्धान

विमान दुर्घटनाको आठ महिना बित्दा पनि आएन प्रतिवेदन

blog

काठमाडौँ, माघ ४ गते । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनापछि सरकारले ४५ दिनमा दुर्घटनाको प्रतिवेदन पेस गर्नेगरी समिति गठन गरेको छ । तर आठ महिनाअघि दुर्घटनामा परेको तारा एयरको जहाजको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । अहिले दुर्घटनामा परेको विमानको प्रतिवेदन पनि समयमै आउनेमा यसले शङ्का उत्पन्न गराउँछ । 

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ–२ मा दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो । प्रारम्भिक अनुसन्धानमा मौसम खराबीका कारण विमान दुर्घटनामा परेको बताइए पनि यसको विस्तृत अध्ययनका लागि दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । 

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ–२ मा दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।

सरकारले तत्कालै वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गरेको थियो । 

जसको सदस्यमा क्याप्टेन दिपु ग्वार्चन, वरिष्ठ मेन्टिनेन्ट्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने  रहनुभएको छ ।

समितिलाई कुनै निश्चित समय नतोके पनि पदाधिकारीले चार महिनामा प्रतिवेदन पेस गर्ने बताएको थियो । तर आठ महिना बित्दा पनि प्रतिवेदन बुझाएको छैन । जाँचबुझ आयोगका इन्चार्ज सुमनको अनुसार जहाजमा प्रयोग रहेको एउटा उपकरण अध्ययनका लागि अमेरिका पठाइएको र त्यसको प्रतिवेदन नआएकाले ढिलाइ भएको हो । 

उहाँले भन्नुभयो, “प्रतिवेदन अन्तिम चरणमा छ । तर विमानमा प्रयोग भएको टेरिएन अवार्नेश एण्ड वार्निङ सिस्टम (टीएडब्लुएस) उपकरण अनुसन्धानका लागि अमेरिका पठाएका छौँ । त्यसको रिपोर्ट आएको छैन ।”

जाँचबुझ आयोगका इन्चार्ज सुमनको अनुसार जहाजमा प्रयोग रहेको एउटा उपकरण अध्ययनका लागि अमेरिका पठाइएको र त्यसको प्रतिवेदन नआएकाले ढिलाइ भएको हो । 

यो उपकरणले विमान अवतरण गर्नुभन्दा पहिले अवतरण गर्न सकिन्छ कि सकिँदैन भन्ने चेतावनी दिने उहाँको भनाइ छ । यसको सहायताले विमान दुर्घटनामा पर्नुको मूख्यकारण पत्ता लाग्ने उहाँको भनाइ छ । 

सुमनले भन्नुभयो, “यो उपकरणले विमान अवतरण गर्नुभन्दा पहिले अवतरण गर्न सकिन्छ कि सकिँदैन वार्निङ दिने उपकरण हो । साथै यसले अगाडि पहाड रहेको नरहेको पनि जानकारी दिने भएकाले अनुसन्धानको लागि यो ज्यादै महत्त्वपूर्ण रहेको छ ।”

यसमा मौसमको सूचना दिने उपकरण पनि सँगै रहेकाले यसको रिपोर्ट आएपछि मात्र प्रतिवेदनले पूर्णता पाउने उहाँको भनाइ छ ।

अनुसन्धानको प्रक्रिया जटिल हुने भएकाले तत्काल नै प्रतिवेदन बुझाउन समस्या हुने पनि उहाँको तर्क छ । उहाँले भन्नुभयो, “अनुसन्धान गर्नु भनेको आफैमा जटिल र लामो प्रक्रिया हो । सरकारले समय तोकेर यति समयमा प्रतिवेदन पेस गर्नु भन्नु नै गलत हो । चाँडै प्रतिवेदन पेस गर्दा धेरै कुराहरू छुट्छन्, त्यसैले केही ढिलाइ भएको हो ।” 

गत आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ । उक्त आयोगलाई ४५ दिनमा प्रतिवेदन पेस गर्न आग्रह गरिएको छ । विमान दुर्घटनाको प्रतिवेदन ४५ दिनमा पेस गर्नु भन्नु पनि धेरै छिटो भएको उहाँको भनाइ छ । यो समयमा सबै अनुसन्धान नै गर्न गाह्रो हुने उहाँले बताउनुभयो ।   

यस्तै, जाँचबुझ समितिका सदस्य समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिबहादुर लामिछाने पनि अमेरिकाबाट उपकारणको रिपोर्ट नआएकाले  प्रतिवेदनले अन्तिम रूप पाउन नसकेको बताउनुभयो ।  

लामिछानेले भन्नुभयो, “एउटा उपकरणको अनुसन्धान नेपालमा हुन नसकेकाले अमेरिका पठाएका छौँ, त्यसको रिपोर्ट नआएसम्म हाम्रो प्रतिवेदन पूरा हुँदैन ।”

पाँच महिनाअघि नै यो उपकरण अनुसन्धानका लागि अमेरिका पठाएको उहाँको भनाइ छ । अमेरिकामा अनुसन्धान गरिरहेको कम्पनीसँग पनि आफूहरूको निरन्तर संवाद भइरहेको उहाँले बताउनुभयो । 

जाँचबुझ समितिका सदस्य समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिबहादुर लामिछाने पनि अमेरिकाबाट उपकारणको रिपोर्ट नआएकाले  प्रतिवेदनले अन्तिम रुप पाउन नसकेको बताउनुभयो ।  

अनुसन्धान भइरहेको कम्पनीले चाँडै रिपोर्ट दिने भनिरहे पनि अहिलेसम्म रिपोर्ट आइनसकेको लामिछानेले जानकारी दिनुभयो । यसबाहेक जाँचबुझ समितिले ब्ल्याक बक्सको पनि अध्ययन गरिसकेको छ । 

अमेरिकाबाट उपकरणको रिपोर्ट आएको हप्ता दिनमै आफूहरूले प्रतिवेदन सरकारसामु पेस गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटनाको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ । अमेरिकाबाट रिपोर्ट प्राप्त भएको एक हप्तामै प्रतिवेदन सरकारलाई बुझाउँछौँ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।