• १२ मंसिर २०८१, बुधबार

भूकम्पपछि जताततै खानेपानी समस्या

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ ३ गते । सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापित भएकालाई खानेपानीको समस्या भएको छ । २०७२ सालको भूकम्पले जमिन चिराचिरा परेपछि खानेपानीको मुहान सुकेको छ । 

तीन नगरपालिका र नौ गाउँपालिकाका १०३ वटा वडाका भूकम्पबाट विस्थापित भएका सबैले खानेपानी अभाव भोग्नु परेको छ । सुनकोसी गाउँपालिका–४, मिजारटोलमा खानेपानी अभाव भएको ७८ वर्षीय जितबहादुर सार्कीले दुखेसो पोख्नुभयो । खानेपानी अभावले घरायसी प्रयोजनमा अति समस्या हुने गरेको उहाँले बताउनुभयो । पानी अभावका कारण मिजारटोलमा सरसफाइमा पनि समस्या छ । 

यस्तै इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाँडेलगायतका ५३ घरका विस्थापितलाई खानेपानीको अभाव छ । भूकम्पले पहिलेको बस्तीमा क्षति पुगेपछि विस्थापित भएकाहरूको दैनिकी पानी अभावमा कष्टकर भइरहेको स्थानीय हरिमाया तामाङले बताउनुभयो । स्थानान्तरण गरिएको उक्त बस्तीका प्रत्येक घरमा धारा निर्माण गरिए पनि धारामा पानी आउँदैन । एक गाग्री पानी लिन तीन किलोमिटर पर पुग्नुपर्ने विस्थापितले जनाएका छन् ।

सिन्धुपाल्चोकका अधिकांश आवास र बस्ती पुनर्निर्माण गरिएका छन् । पुनर्निर्माण भएका बस्तीमा खानेपानीको व्यवस्था भएको छैन । खानेपानी समस्या हल गर्न स्थानीय तहले सामान्य रूपमा काम गरेका छन् तर बस्तीमा सहजपूर्वक पानी पु-याउन सकिरहेका छैनन् । खानेपानीका लागि आएको बजेटमा पनि उपभोक्ता समिति र ठेकेदारले अनियमितता गरेका कारण खानेपानी योजनाका कामहरू अधुरो बन्न पुगेका छन् ।