• १३ असोज २०८१, आइतबार

विमान दुर्घटना : ३८ जनाको पहिचान

blog

रमेश पौडेल
पोखरा, माघ २ गते । 
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । आइतबार बिहान भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ३८ जनाको शव पहिचान भएको हो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टमका लागि तयारी हुन लागेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले काठमाडौंबाट हेलिकोप्टरमा चिकित्सकको टोली आइपुगेका र अब सानो छलफल गरेर पोस्टमार्टमको कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।

यसैगरी, दुर्घटनामा मृत्यु भएर पहिचान खुलेका शव पोस्टमार्टमपछि आजै परिवारलाई जिम्मा लगाइँदै छ भने पहिचान नखुलेका शव काठमाडौं पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो । साथै, दुर्घटनामा परी बेपत्ता चार जनाको सोमबार बिहानैदेखि खोजी भइरहेको छ ।

माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।   

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोताखोरको टोलीसहित विमानस्थलको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।

यो पनि पढ्नुहोस

अमेरिकाबाट आएका राजनले घरको खुसी देख्नै पाउनु भएन