• १३ असोज २०८१, आइतबार

विमानमा सवार चार दम्पतीको निधन

अमेरिकाबाट आएका राजनले घरको खुसी देख्नै पाउनु भएन

blog

गण्डकी, माघ १ गते । पोखरामा भएको विमान दुर्घटनामा परी हालसम्म चार दम्पतीको निधन भएको पुष्टि भएको छ ।

राससका वासुदेव पौडेलका अनुसार, पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसीयाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गर्नुभएका राजन ।     

अमेरिकाबाट शनिबार काठमाडौँ झर्नुभएका सापकोटालाई लिन उहाँकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुग्नुभएको थियो । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एयरलाइन्सको जहाज चढी पोखरा आउँदै हुनुहुन्थ्यो । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा पर्नुभयो ।          

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसीयाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बन्नुभएको छ । उहाँका छरछिमेक सबैका आँखा रसाएका छन् ।     

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका जानुभएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आउनुभएको थियो । गत वर्ष माघको १९ गते विवाह गर्नुभएका सापकोटा पुनः अमेरिका फर्की शनिबार मात्रै नेपाल आउनुभएको हो । उहाँका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव

(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आउनुभएको हो ।     

“दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ”, उहाँले भन्नुभयो । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा पर्नुभएको छ । 

घरायसी कामकाजको सिलसिलामा काठमाडौँ जानुभएका कुँवर दम्पती छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाउनुभएको थियो । जहाज दुर्घटनामा हेमाजाकै चार–चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

यसैगरी, दुर्घटनामा परेर दुई चिकित्सक दम्पतीको निधन भएको छ । वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ । 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान पोखराको सेती खोचमा बिहान १०ः५१ मा दुर्घटनामा परेको थियो । उहाँहरू आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन जानुभएको थियो।