• १३ असोज २०८१, आइतबार

पोखरा विमान दुर्घटना

‘६ जनाको अवस्था अझै अज्ञात, ब्ल्याक बक्स पनि भेटिएन’

blog

सेतीको खोँचमा उद्धार कार्यमा खटिएका नेपाली सेनाका उद्धारकर्ताहरू । तस्बिर : नेपाली सेना, पश्चिम पृतनालय

रमेश पौडेल

पोखरा, माघ १ गते । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जनामध्ये ६३ जनाको शव अस्पतालमा पुराइएको छ । तीन जनाको शव सेतीको खोँचमा देखिएको छ तर माथि ल्याउन सकिएको छैन भने छजना यात्रुको अवस्था भने अझै अज्ञात रहेको छ ।

उद्धार कार्यको नेतृत्व गर्दै आएको नेपाली सेनाको पश्चिम पृतनालयका पृतनापति उपरथि दीपककुमार बानियाँले भन्नुभयो, ‘‘समाचार माध्यममा आएका तथ्य सबै सही छैनन्, आइतबार राती ९ बजेसम्म खोँचबाट निकालेर ६३ वटा शव अस्पताल लगिएको छ, तीनवटा शव सेतीको खोँचमा देखिएको छ तर निकाल्न सकिएको छैन र ६ जना यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।’’

यसअघि विभिन्न निकायले ६८ वटा शव प्राप्त भएको विवरण सार्वजनिक गरेका थिए । विमानको अधिकांश भाग जलेको छ । लामो प्रयासपछि आगो निभाइए पनि हालसम्म जीवित कसैको उद्धार हुन सकेको छैन । 

दुर्घटना अप्ठ्यारो ठाउँमा रहेकाले आजलाई उद्धार कार्य स्थगित गरिएको छ र सोमबार बिहान ७ बजेबाट पुनः उद्धार कार्य जारी रहने जानकारी पनि पृतनापति बानियाले दिनुभयो । 

उता अस्पतालमा पुराइएका शवको पोस्टमार्टम गर्ने कार्य जारी छ । यो समाचार तयार पार्दासम्म २५ वटा शवको पहिचान भएको छ । जसमा पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाही पनि हुनुहुन्छ । 

पहिचान भएका शव सोमबार बिहान ९ बजेबाट परिवारलाई दिने तयारी छ । 

विमानमा जडान गरिएको ब्ल्याक बक्स अझसम्म पनि भेटिएको छैन । विमान के कारणले दुर्घटनामा परेको हो भनेर अध्ययन गर्न ब्ल्याक बक्स आवश्यक पर्दछ ।