• १३ असोज २०८१, आइतबार

पोखरा विमान दुर्घटना

पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाइने

blog

बैठकको निर्णयबारे जानकारी दिनुहुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्री । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, माघ २ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाउने भएको छ ।

प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले पहिचान खुल्न नसकेका, विदेशी नागरिक र चालक दलका सदस्य तथा आफन्त नभएकाहरूको शव काठमाडौं पठाउने जानकारी दिनुभयो । साथै, उहाँले प्रतिष्ठानमा पोस्टमार्टम गर्न मिल्नेको गरिने बताउनुभयो ।

आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको शव पहिचान, व्यवस्थापन तथा पोस्टमार्टम कार्यमा सहजीकरण गर्नका लागि सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधि सभा सदस्यको उपस्थितिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (सोमबार) बिहान बसेको बैठकले यो निर्णय गरेको निर्देशक खत्रीले जानकारी दिनुभयो ।


सो बैठकले पोखरामा पाँच सदस्य फरेन्सिक विशेषज्ञ चिकित्सकसहितको राष्ट्रिय शव परीक्षण समिति गठन गरेको छ । समितिले शव परीक्षण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप व्यवस्थित तथा मर्यादित बनाउन गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय शव परीक्षण समितिमा सह. प्रा.डा मदनप्रसाद बराल, सह. प्रा.डा नवादत्त सुवेदी, उप.प्रा.डा सुधीर रमन पराजुली, डा. सुशील गुरुङ्ग र डा. सुमी महर्जन हुनुहुन्छ ।

यसैगरी, पूर्ण रूपमा पहिचान भएका शवहरू राष्ट्रिय शव परीक्षण समिति गठन पश्चात् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

पहिचान नखुलेका, विदेशी नागरिक, चालक दलका सदस्य तथा काठमाडौं लैजान चाहेका शवहरू कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काडमाडौं पठाइने उहाँले बताउनुभयो ।

त्यस्तै, प्रतिष्ठानमा उपलब्ध शव गृहमा मात्र शवको व्यवस्थापन गर्न नसकिने अवस्थामा सोको व्यवस्थापनको लागि पोखरास्थित अन्य अस्पताल तथा मेडिकल कलेजहरूमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।