• १२ साउन २०८१, शनिबार

म्याग्दीमा अझै लोकप्रिय छ उखु पेल्ने परम्परागत कोल

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ) ,माघ १ गते । म्याग्दीमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ । आधुनिक प्रविधिमा आधारित विद्युतीय मेशिन अर्थात् मिलको प्रयोग बढ्दो समयमा यहाँका स्थानीयले भने उखु पेल्न परम्परागत कोलको प्रयोगलाई निरन्तरता दिएका छन् । 

जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ५ की चन्द्रकली सापकोटाले सधैँ कोलमा उखु पेल्ने गरेको बताउनुभयो । विद्युतीय मिलमा भन्दा कोलमा पेल्दा धेरै रस आउने ,शुद्ध र राम्रो हुने उहाँको भनाइ छ । उखुको रसबाट खुँदो बनाउने गरेको उहाँले बताउनुभयो । उखु खेतीलाई थप विस्तार व्यवसायिक बनाउने योजनामा रहेको सापकोटाले बताउनुभयो ।

कोलबाट उत्पादित वस्तु प्रयोग गर्दा स्वस्थ तथा निरोगी हुने मङ्गला गाउँपालिका–५,पिपल बोटकी लिलावती सापकोटाको भनाइ छ । ‘‘कोल हाम्रो परम्परागत सभ्यता र मौलिक संस्कृति बारे जानकारी गराउने घरेलु मेशिन पनि हो । यसको संरक्षण गर्न आवश्यक छ ,’’उहाँले भन्नुभयो ।

यातायातको विकास सँगै बजारको पहुँच गाउँसम्म पुग्नु र आधुनिक प्रविधिमा आधारित विद्युतीय मिलको बढ्दो प्रयोगले गाउँघरमा कोल लोप हुँदै गएकोप्रति मङ्गला गाउँपालिका–२,सिमका खगेन्द्र केसीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले पचास वर्ष पुरानो परम्परागत प्रविधिमा बनाइएको कोल सञ्चालन गर्दै आउनुभएको छ । 

सिमको कोलमा उखु पेल्न आसपासका गाउँबाट कृषकहरू उखु बोकेर आउने गरेका छन् । कोलमा उखु पेल्न आउनेबाट १५ लिटर बराबर ८० रुपियाँ शुल्क लिने गरेको उहाँले जानकारी दिनुभयो । बजारमा विभिन्न किसिमका प्याकिङ गरिएका चिनी गाउँमा सजिलै पाइन थालेपछि स्थानीयले कोललाई बेवास्ता गरेको उहाँको बुझाइ छ । काठको मुडा अथवा फलामबाट बनेको तथा कम्तीमा दुईदेखि चार जनाले हातले घुमाएर परम्परागत कोलमा उखु र तोरी पेल्ने गरिन्छ ।

मालिका गाउँपालिका–४,च्युरिबोटका नन्दबहादुर घर्ती मगरले गाउँमा पानी मिल बनेसँगै सोही वडामा रहेका दुई वटा तोरी र उखु पेल्ने कोल संरक्षणको अभावमा लोप भएको बताउनुभयो ।गाउँमा आधुनिक प्रविधिमा आधारित विद्युत्बाट सञ्चालन हुने मिलको प्रयोग बढे पनि स्थानीयवासी उखु र तोरीलाई कोल पेल्न रुचाउने मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । जिल्लाको धवलागिरि गाउँपालिका सहित केही पालिकाले गाउँमा परम्परागत प्रविधिमा आधारित ढिकी ,जाँतो ,कोल लगायत घरेलु मेशिनलाई संरक्षण गर्न अनुदान उपलब्ध गराउने गरेका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिका–२,सिममा परम्परागत प्रविधिमा आधारित कोलमा उखु पेल्दै । तस्बिर ः साधन घर्ती