• ११ मंसिर २०८१, मङ्गलबार

माघीको माहोलमा तराई

blog

धनगढी समाचारदाता

धनगढी, पुस १ गते ।‘बाबा कि सगरुवा, मुरिया लहाने रे हाँ, सखिये हो सेन्दुर छुटल पानी घाट ।’ नयाँ वर्ष एवं ठूलो पर्व माघ (माघी-खिचरा)मा थारू समुदायले गुनगुनाउने मौलिक गीत हो, यो । पुर्खाहरूले सिर्जना गरेको यो लोकगीत थारू समुदायमा अहिले पनि लोकप्रिय छ । 

यस्तै परम्परागत गीतमा रमाउँदै तराईका भूमिपुत्र थारू समुदायका मानिसले माघ पर्व मनाइरहेका छन् । शनिबारदेखि माघको उल्लास यो समुदायमा सुरु भएको छ । थारू बस्ती माघसम्बन्धी गीतले गुञ्जायमान बनेको छ । “हामी वर्ष दिनको दुःख, पीडा बिर्सेर माघमा रमाउने गर्द छौँ,” धनगढी उपमहानगरपालिका–५, तारानागरका भलमन्सा गोठुराम चौधरीले भन्नुभयो, “यो हामीहरूको सबैभन्दा ठूलो पर्व हो ।” 

माघ पर्व तीन दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ । पुस अन्तिम दिन अर्थात् माघको पहिलो दिन सुँगुर मारकाट गर्ने (जिटा मार्ने) चलन रहेको छ । थारू सम्वत् र आर्थिक वर्षको यो अन्तिम दिन हो । वर्षभरिको दुःख, पीडा बिर्सेर यो दिन मासु, माछालगायत मीठा परिकार खाने र नाचगान गरेर रमाउने चलन रहेको छ । उहाँका अनुसार यस दिन मघौटा गीत गाउँदै मघौटा नाच नाचिन्छ । यसैगरी, धुनी जलाएर ढमार, ढुमरु गीत गाउँदै भलमन्साको घरमा जाग्राम बस्ने चलन छ । 

“पहिलो दिनमा गरिब, धनी सबैको घरमा सुँगुरको मासु अनिवार्य रूपमा हुन्छ,” भलमन्सा चौधरीले भन्नुभयो । रातको १२ बजेपछि अर्थात् माघ १ गते लागेपछि थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । आजबाट थारू सम्वत् २६४६ सुरु हुँदै छ । माघ पर्वको यो निकै विशेष र महत्त्वपूर्ण दिन हो । यस दिन पानी किनेर स्नान गर्नुपर्छ भन्ने थारू समुदायमा मान्यता छ । त्यसैले नदी, तलाउ, पोखरीमा पैसा हालेर मात्रै नुहाउने गरेको तारानगरकै खोजराम चौधरी बताउनुहुन्छ । 

“वर्षदिनमा खेतीपातीको काम गर्दा, कोदालो चलाउँदा हाम्रो कारणले कीराफट्याङ्ग्रा मरेका हुन्छन् । हलो जोत्ने क्रममा गोरु राँगाले पिट्ने गर्दछौँ,” उहाँले अगाडि थप्नुभयो, “त्यसैले हामीले वर्षदिन गरेको पाप पखालियोस् भनेर एक दिन पानी किनेर माघ नुहाउने गर्दछौँ ।” माघ १ गतेलाई माघ लहान भन्ने गरिन्छ । यो दिन पानी किनेर नुहाउँदा पूण्य प्राप्त हुने गरेको जनविश्वास छ । 

यस दिन नयाँ–नयाँ कपडा लगाएर घरपरिवार, इष्टमित्र, आफन्तको घरमा गएर सेवा ढोग लाग्ने गरिन्छ । यसैगरी, नयाँ वर्ष रहेकाले एकअर्काबीच खुसीयालीसहित शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको दिन ढिक्री, मासु, तरुललगायतका परिकार खाने गरिन्छ । माघ पर्वको तेस्रो एवं अन्तिम दिन अघिल्लो वर्षको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना बनाइने गरिन्छ । यसलाई खोज्नीबोज्नी वा माघी देवानी भनिन्छ । यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा, अघारी, चौकीदार (चिरक्या) चयन गर्ने गरिन्छ । 

विगतमा माघ पर्वको बेला मात्रै तत्कालीन कमैयाले बिदा पाउने गरेकाले मुक्तकमैयाले यस पर्वलाई स्वतन्त्रताको पर्वका रूपमा पनि मनाउने गर्छन् । माघमा थारू संस्कृति, संस्कार, वेशभूषाको बेग्लै नमुना देख्न सकिन्छ । “हाम्रो संस्कृति, पहिरन अरूभन्दा बेग्लै र राम्रो छ,” खोजरामले भन्नुभयो । 

सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व

माघमा रिसराग, इष्र्या, झैझगडा त्यागेर मेलमिलाप गर्ने चलन छ । यस दिनदेखि खराब आचरण त्यागेर राम्रो कामको सुरुवात गर्ने चलन रहेको थारू बुद्धिजीवी ठाकुर करियाप्रधानको भनाइ छ । उहाँले माघ पर्वमा थारू समुदायमा सामाजिक परिवर्तन र रूपान्तरण देखिने गरेको बताउनुभयो । “विगत जे जस्तो भए पनि माघपछि नयाँ योजना बनाउने, नयाँ नेतृत्वकर्ता चयन गर्ने गरिन्छ,” उहाँले भन्नुभयो । 

माघको छुट्टै मौलिक गीत, छुट्टै नृत्य रहेको छ । संस्कृति, संस्कार, वेशभूषाको प्रदर्शन र बाँडीचुँडी खाने गरिन्छ । आफ्नो विवाहित छोरीलाई मृत्यु नहुञ्जेलसम्म सगुनको रूपमा चामल दिने चलन रहेको छ । जसलाई निसराउ भनिन्छ । 

थारू समुदाय प्रकृति पूजक हो । यो समुदायका मानिस प्रकृतिमाथि निर्भर रहनुका साथै विश्वास गर्दै आएका छन् । प्रकृति पूजक रहेका र प्रकृतिसँग रमाउने गरेका कारणले नदी, तालमा माघ ‘लहान’ गर्ने गरेको करियाप्रधानको भनाइ छ । “हामी अहिंसावादी हौँ,” उहाँले भन्नुभयो, “वर्षको अन्तिम दिन सुँगुर मारेर खाने गरे पनि नयाँ वर्षको दिन मारकाट त परै जाओस् रगतसमेत नदेखाउने चलन छ ।” 

पुर्खादेखि चल्दै आएको संस्कृति पछिल्लो समय बिग्रिँदै पनि गएको छ । पहिले होली र दीपावली मात्रै बिग्रेको थारू समुदायको आधुनिकताका नाममा अहिले केही हदसम्म माघसमेत बिग्रेको खोजराम चौधरीको भनाइ छ ।