रमेश विश्वकर्मा
गुल्मी, पुस ३० गते । गुल्मीमा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीको आयोजनामा शनिबार बिहानदेखि जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सुरु भएको हो ।
उक्त प्रतियोगिताको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्र आफैमा अनुशासित क्षेत्र भएको बताउनुभयो । खेलकुदको क्षेत्रको विकासमा आफू पनि निरन्तर लागेको उल्लेख गर्नुभयो । केही समयभित्र रेसुङ्गा नगरपालिकाले पनि मेयरकपको आयोजना गर्ने समेत उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा रुरुक्षेत्र गाउँपालिकाका तीन, छत्रकोट गाउँपालिकाको एक, मालिका गाउँपालिकाको एक, चन्द्रकोट गाउँपालिकाको एक, सत्यवती गाउँपालिकाको एक, कालीगण्डकी गाउँपालिकाको एक र रेसुङ्गा नगरपालिकाको एक गरी नौ डोजाङ्गबाट सहभागी भएका छन् । उक्त डोजाङ्गबाट करिब २२० जना खेलाडीको सहभागिता रहने छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेछन् । जसमा २० स्वर्ण, २० कांस्य र ४० रजत पदक वितरण गरिने छ । उत्कृष्ट महिला पुरुष खेलाडीलाई वेस्ट अवार्डसहित नगद रकम प्रदान गरिने आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले बताउनुभयो ।