• ११ मंसिर २०८१, मङ्गलबार

पृथ्वी जयन्तीसँग जोडिएको पहिचान

blog

केही वर्षदेखि स्थगित भएको पुस २७ गते मनाइँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७९ साल पुस २७ गते राष्ट्रिय दिवसकै रूपमा मनाइयो । सरकारले सार्वजनिक बिदा पनि दियो । सरकारले बिदा दिने र राष्ट्रिय पर्वका रूपमा मनाउने निर्णय गरेपछि विभिन्न 

कोणबाट चर्चा र परिचर्चा हुन थालेका छन् । खासगरी २०४६ सालको परिवर्तनपछि विस्तारै सेलाउँदै गएको पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस २०६० को दशकपछि पूर्णतः हराउँदै गयो । पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेको भन्ने कुरामा पक्ष वा विपक्षमा बोल्नेहरूका बीचमा आज पनि मतैक्य नै छ । सामान्य अर्थमा हेर्दा त्यसलाई भौगोलिक एकीकरण नै भन्न सकिएला । नेपाल एकीकरणको प्रयास गर्ने पहिला राजा पृथ्वीनारायण मात्र होइनन् । शताब्दीको थालनीतिरै भारतको समुद्र गुप्तको प्रयाग प्रशस्तीमा नेपालको सिमाना कामरूपादेखि कातृपुर भनेर उल्लेख गरिएको छ । कामरूपा भारतको उत्तरपूर्व आसाममा पर्छ भने कातृपुर पश्चिम काश्मिरमा । त्यो भौगोलिक सीमा हो कि अरू नै हो भन्ने विषयमा आज स्पष्ट हुन सकिँदैन । तर ती क्षेत्रमा नेपाली भाषा बोल्ने मानिसको यथेष्ट सङ्ख्या पाइन्छ । मध्यकालमा नेपालको पश्चिम क्षेत्रमा काश्मिर तिब्बती क्षेत्रबाट आएका नागराजा नामका व्यक्तिले जुम्लामा हस्तक्षेप गरी आफ्नो शासन राज्य कायम गरेपछि राजा बने । उनी र उनका उत्तराधिकारीले आफ्नो बसोबास र आएको स्थानका नामले आफ्नो शासनको नाम वा देशको नाम खस राख्न पुगे । त्यस पछि नेपाली शब्दकोषमा ‘खस’ शब्दको प्रवेश भयो । यसर्थ राजनीतिक रूपमा खस कुनै जाति, सम्प्रदायको अर्थमा बुझ्न हुँदैन । नागराजादेखि चापा, चापिल्ला, क्रशिचल्लासम्म आइपुग्दा तेह्रौँ शताब्दीको थालनी भइसकेको थियो । अशोकाचल्लाले शासन गर्दासम्म उनी कुन सम्प्रदाय र जातिका थिए भन्ने कुरा अहिलेसम्म पनि बताउन सकिँदैन । 

पृथ्वीनारायण एकीकरण अभियानका डिजायनर र थालनीकर्ता बने । नवनिर्मित राज्यको सुरक्षा र स्थायित्वमा समेत ध्यान दिन गए जुन कुरा उनको दिव्य उपदेशमा पाइन्छ । 
आजको सन्दर्भमा ‘खस’ लाई जसरी परिभाषित गरिएको छ, त्यसबेला पनि खस राज्य भनिएको क्षेत्रमा जातिगत रूपमा गुरुङ, मगर, थकाली जातिको बसोबासको बाहुल्यता थियो । तिब्बत–काश्मिरतिरबाट आएका नागराजा आजका क्षेत्री जातिका भएको कुरा कल्पनाभन्दा अलिक पर देखिन्छ । जब अशोकचल्लाका उत्तराधिकारीले शासनमा राजा हुने ठकुरी र आफूले मल्ल उपनाम दिई सन् १२८८ मा जितारमिल्लको उदय भयो तब त्यहाँका मल्लहरू ठकुरी भनेर कहलिन थाले । यस वंशले शासन गर्दा पुण्यमल्लको शासनसम्ममा त्यस क्षेत्रको भौगोलिक सिमाना त्रिशूलीदेखि काश्मिरसम्म फैलिएको थियो । जनसङ्ख्याको फैलावट पूर्वी भारतसम्म नै थियो । पुण्यमल्लपछि राज्य फेरि विखण्डनतिर जान थाल्यो र कालान्तरमा बाइसी चौबीसी, गडवाल, देहरादुन आदिमा टुक्रिन गयो । तसर्थ ती क्षेत्र पनि नेपालको भएकाले नेपालको भौगोलिक एकीकरणको थालनी पृथ्वीनारायणबाट सुरु भयो भन्नु इतिहासमा युक्तिसङ्गत नहोला ।

यसको अर्थ यो होइन कि पृथ्वीनारायण नेपालको राष्ट्र निर्माता होइनन् । राष्ट्र बनाउन खोजेर मात्र हुन्न त्यसको संरक्षण र सुरक्षा पनि चाहिन्छ । गोरखा राज्यमा शाहवंशको उदयभन्दा पहिले कहिले पाल्पा कहिले काठमाडौँकै अधीनमा रहेको पनि यदाकदा पाइन्छ । त्यसभन्दा पनि पहिले त्रिशूलीदेखि काश्मिर पुगेको खस राज्यभित्र गोरखा पनि थियो भन्ने कुरा बुझ्न कठिन हुँदैन । खस राज्यले आफ्नो राज्य बचाउन नसके पनि राज्य विकासको सिलसिलामा केही कुरामा योगदान गरेको पाइन्छ । सेना निर्माण गर्दा बटालियन बनाउने वा सङ्गठित गरेर राख्ने, एउटै भाषाको देशव्यापी प्रचलन र आफ्नो राज्य सरहदमा बस्ने नागरिकको संस्कारगत मान्यताका आधारमा हिन्दु तथा बौद्ध धर्मलाई एकापसमा सहिष्णुताका साथ विकास गर्ने । यो संस्कारगत शिक्षाबाट गोरखाको समुदाय र राज्य विमुख थिएन । नेपाल एकीकरणमा पृथ्वीनारायणका लागि यी तिनै योगदान बरदान साबित भए । भाषागत एकता नभएको भए वा साम्प्रदायिक वा धार्मिक सहिष्णुता नभएको भए र सेना निर्माणको चेतना नभएको भए त्यो समय जुनबेला युरोप अमेरिकालगायतका मुलुक अन्धकारतिरबाट उज्यालोतिर लम्कन नपाउँदै नेपालको एकीकरणको थालनी गर्न पृथ्वीनारायणलाई कठिन थियो । जुनबेला पृथ्वीनारायणले नेपाल एकीकरणको अभियान सुरु गरे त्यो उपयुक्त समय तर कठिन अवस्था पनि थियो । 

पृथ्वीनारायण एकीकरण अभियानका डिजायनर र थालनीकर्ता बने । नवनिर्मित राज्यको सुरक्षा र स्थायित्वमा समेत ध्यान दिन गए जुन कुरा उनको दिव्य उपदेशमा पाइन्छ । राज्यको विस्तार त उनका उत्तराधिकारीले पनि चलाए र आज नेपाल भनेर विश्वमा चिनिने ठाउँमा देशलाई पु¥याए । नेपाली भनेर विश्वसमुदायमा हामी परिचित छौँ । पृथ्वीनाराणकै समयमा एकीकरण अभियानको थालनी नभएको भएपछि यो मुलुक अरू राज्यमा विलय भइसकेको अवस्थामा हुने इतिहासका पछिल्ला तथ्यले देखाइसकेका छन्, जुन अध्ययनको र बहसको छुट्टै विषय हुन सक्छ । हाम्रोजस्तो बहुभाषी, बहुधर्मी (इतिहासमा देखिएका त दुई धर्म मात्र), बहुसांस्कृतिक कुरा हाम्रा लागि गर्वका कुरा हुन् तर तिनको रक्षा र सुदृढीकरणमा एकरूपता र एकता आवश्यक पर्छ । ती सबैको समान विकासलाई योगदान दिने भनेको भाषा हो । यो हामीले बुझ्नुपर्ने कुरा हो । गोर्खाली एकीकरणले यसको विकास गर्न खोजेको हो । भाषागत समस्या हुन्थ्यो भने नेपाल एकीकरण सायद सम्भव हुने थिएन । तसर्थ भूगोल मात्र होइन, भाषागत, समुदायगत, जातिगत एकताको अभ्यास पृथ्वीनारायणले गरेका थिए । त्यसैले उनलाई भूगोल एकीकरण मात्र गरे भनेर भन्नु अन्याय हुनेछ र उनी राष्ट्रका निर्माता नै हुन् । तसर्थ पृथ्वी जयन्ती बिर्सने हो भने हामीले देश भुलेको ठहर्ने छ । २०७९ सालमा सरकारी क्षेत्रबाट राष्ट्रिय पर्वको रूपमा स्वीकार गरिएकोमा नेपाल सरकार र त्यसका प्रधानमन्त्री प्रति आभार व्यक्त गर्नै पर्छ । यसमा सरकारलाई स्वीकार गर्न सिकाउने राष्ट्रिय प्रजातन्त्र पार्टी धैरै नै धन्यवादको पात्र बन्न गएको छ ।

यो लेखिरहँदा मलाई केही वर्षअघिको केही घटनाको याद भएको छ । २०५८ सालतिर हो तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले देशव्यापी पृथ्वी जयन्तीको आयोजना गरेको थियो । यसबेला कतिपय स्थानमा पृथ्वीनारायणका सालिक तोडिइरहेका थिए । झापाको धुलावारीमा आयोजित एक कार्यक्रममा मैले कार्यपत्र पेस गर्दै पृथ्वीनारायणका दिव्य उपदेशलाई तत्कालीन सन्दर्भसँग जोडेर प्रस्तुत हुँदा धेरैबाट प्रशंसा र थोरैले आलोचना पनि गरे । आलोचना इतिहासका तथ्यसँग मेलखाने थिएनन् । २०७९ सालतिर विराटनगरमा भएको एक गोष्ठीमा इतिहासका विद्वान्को बीचमा पृथ्वी जयन्ती मनाउनु पर्ने प्रस्ताव गरेको थिएँ । त्यसलाई गोष्ठीमा उपस्थित सबैले स्वीकार गरेर केही वर्ष त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग र नेपाल इतिहास सङ्घले निरन्तर गोष्ठीको आयोजना गरेका थिए । केही वर्षयता नेपाल इतिहास सङ्घ कता हरायो थाहा छैन । 

पृथ्वीनारायण ती दुई तित्राका माझमा प्रतीक बनेका छन् । उनी एक राजा थिए तर राजा मात्र भएनन् उनी राजाभन्दा धेरै माथि हुन गएका छन् । वास्तवमा पृथ्वीनारायणले नेपालमा रहेका कुनै जात, सम्प्रदाय वा क्षेत्रउपर कहिल्यै विभेद गरेको पाइँदैन । उनको सम्झना नेपालीको आफ्नो पहिचान पनि हो ।

सरकारले पृथ्वी जयन्ती मनाउन सार्वजनिक बिदाको समेत घोषणा गरेपछि दुई खालका प्रतिक्रिया उत्पन्न भएका छन् । एकखाले पृथ्वीनारायणलाई राष्ट्रको एकीकरणकर्ता र एकताको प्रतीक देख्ने र अर्काखाले उनलाई गलत रूपमा चित्रित गर्ने । पहिलो खाले प्रतिक्रियाभित्र पनि कोही राजा भएकाले राजतन्त्र त्यसमा खोज्ने र कोही गणतन्त्रीय आँखाले हेरी एकीकरणकर्ता त हो तर राजा हो भनेर अनुहार चाउरी पार्ने । अर्काथरि पृथ्वीनारायणलाई आक्रमणकारी देखाएर दानव बनाउने । वास्तवमा यी कुनै पनि प्रतिक्रिया इतिहास सम्मत मानिँदैनन् ।

चाहे युरोपको इटली एकीकरण होस् या जर्मनीको एकीकरण । एकीकरणको पहल मन्त्री प्रधानमन्त्रीले गरे पनि राजाको नेतृत्वमै भएको छ । किनकि त्यसबेला ती देशमा राजतन्त्र नै थियो । एकीकरण अभियान युद्धबाट नै भएका छन् । लामो समय कूटनीतिबाट एकीकरण गर्ने चाहना राख्ने राजा विलियम प्रथमका कारण जर्मनी एकीकरण रोकिएको तर पछि राजाले आफ्नो गल्ती महसुस गरेपछि विस्मार्कको रक्त र फलाम अर्थात् हतियारको युद्धले छिनोफनो भएको इतिहास हामीले पढेका छौँ । इटली एकीकरण पनि युद्धबाटै पूरा भयो । युद्धमा हिंसा हुन्छ नै । त्यहाँ राजाहरूका अलावा मेजनी, गेरिबाल्टी, विस्मार्क आदिको एकीकरणमा नाम जोडिन आउँछ । न एकीकृत जर्मनीमा मेरो जातमाथि दमन भयो भनेर कसैबाट भनिएको छ न इटलीमा । तर नेपालमा भने किन कुरा उठिरहन्छ ? 

इटली र जर्मनी विकसित भए । हाम्रो मुलुकमा साम्राज्यवादी खेल मैदान हुनबाट रोकिएको छैन । पृथ्वीनारायणले साम्राज्यवादीलाई फिरङ्गीको उपमा दिए । आफ्ना दिव्य उपदेशमा साम्राज्यवादीका विरुद्ध बलियो हुन सन्देश दिए । राष्ट्रको एकता सैन्यबलमा मात्र होइन जनताको धर्म, संस्कृति, भाषा र अन्य माध्यमबाट पनि एकता चाहिन्छ र प्रजा बलिया भए देश बलियो हुने पाठ पढाए । राज्यले लामो समयसम्म पृथ्वी उपदेशलाई जनतामाझ प्रचार पनि गर्यो । पृथ्वीनारायणका त्यसबेलाका उपदेश नेपाली मनसपटलमा जमिरहे । जबसम्म जनताको एकता रहन्छ तबसम्म देशमा विदेशी प्रभाव स्थापित हुन सक्दैन भन्ने बुझेका साम्राज्यवादी ताकत पछिल्ला दिनमा जनतामा विभाजन ल्याउन लागि परेका छन् । नेपाल यसबेला विश्व परिवेशमा रणनीतिक भूभाग हुन गएको छ जसको चर्चा छुट्टै अध्यायमा हुन सक्छ । आफ्नो स्वार्थअनुकूल चलाउन र यस देशलाई विभाजन गर्न आफ्नो सम्पन्नता र वैभव प्रयोग गर्ने खेल भइरहेका छन् । यस्तो अवस्थामा हाम्रो सांस्कृतिक सामाजिक धरोहर र विश्वासमाथि आक्रमण पनि हुन सक्छ । हामी कुनै दल वा शक्ति नभनेर नेपाली हुनुको नाताले एकजुट हुने हो भने कसैको केही लाग्दैन । पृथ्वीनारायणका विरुद्ध मिथ्या प्रचारमा लाग्ने पनि निष्तेज हुनेछन् । 

यसरी हेर्दा पृथ्वीनारायणको समर्थन र विरोध विदेशी स्वार्थ कि राष्ट्रिय स्वार्थ भन्ने विषयमा हुन गएको छ । यसर्थ राष्ट्रको हित र द्रोहको दुई कित्ता यसबेला नेपालमा देखिएको छ । पृथ्वीनारायण ती दुई त्रिताका माझमा प्रतीक बनेका छन् । उनी एक राजा थिए तर राजा मात्र भएनन् उनी राजाभन्दा धेरै माथि हुन गएका छन् । वास्तवमा पृथ्वीनारायणले नेपालमा रहेका कुनै जात, सम्प्रदाय वा क्षेत्रउपर कहिल्यै विभेद गरेको पाइँदैन । उनको सम्झना नेपालीको आफ्नो पहिचान पनि हो भन्दा फरक नपर्ला । जय पृथ्वी ।