• ७ वैशाख २०८१, शुक्रबार

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

blog

१८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक गर्नुहुँदै डा. बद्री पोखरेल । तस्बिर : रासस

काठमाडौं, पुस २८ गते । वेदव्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवानिवृत्त हुनुभएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेख्नुभएको हो ।

शिवपुराणको भने अध्यायगत अङ्ग्रेजी सारांशसमेत उहाँले प्रकाशन गरिसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट २०४३ सालमा सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गर्नुभएका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाउनुभएको थिएन । त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि स्नातकोत्तर गर्नुभएका उहाँले लामो समय अर्थ मन्त्रालयमा काम गर्नुभयो ।

पिताजी र दाजुको प्रेरणामा तीनधारा पाठशालामा बसेर वाल्मीकि विद्यापीठमा संस्कृत अध्ययन गर्नुभएका पोखरेलले जागिरे जीवनमा यसको उपयोग गर्न पाउनुभएको थिएन । संस्कृत अध्ययन गरेका छोरालाई आमाले बेला–बेलामा घरमा पुराण सुनाउ भन्ने गर्नुभएको थियो । जागिरे जीवनमा त्यो अवसर नपाएपछि सेवानिवृत्त भएर उहाँले आमालाई एकादशी माहात्म्य र केही पुराण सुनाउन थाल्नुभयो ।

आमालाई पुराण सुनाउने क्रममा पोखरेललाई लेखेर सबैले पढ्न सक्ने गरी किन प्रकाशन नगर्ने भन्ने सोच पलायो ? आमालाई पुराण सुनाउँदा फूरेको योजनाले १८ पुराणको नेपाली अध्यायगत सारांश लेखेर प्रकाशन गर्ने उत्प्रेरणा जगाएको उहाँले बताउनुभयो । चार वटा पुराण सुनाउँदैमा विसं २०७२ मा पोखरेलकी आमाको निधन भएपछि पुराण अब अरुलाई बताउँछु भनेर उहाँले सङ्कल्प गर्नुभयो । यही सङ्कल्पले १८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक भएको छ ।

संस्कृतसँगै अर्थशास्त्रको पनि अध्ययन गरेर जीवनभर आर्थिक क्षेत्रमै काम गर्नुभएका पोखरेललाई आधुनिक अर्थशास्त्रका पिता मानिनुहुने एड्मस्मिथको ‘संसारमा समस्या भयावह छ, यसको समाधान कहिल्यै हुँदैन’ र माल्थसको ‘जनसङ्ख्या दोब्बरले बढ्छ तर खाद्यान्न क्रमिक रुपमा मात्र बढ्छ’ भन्ने आशयले आधुनिक ज्ञानले दीर्घकालीन समाधान नदिने रहेछ भन्ने परेको थियो । त्यही बेलादेखि उहाँ पूर्वीय दर्शनमा डुब्ने चाहना राख्नुभएको थियो । 

अर्थशास्त्रको यही समस्या समाधानका लागि उहाँले पुराण गहिरिएर अध्ययन गर्न थाल्नुभयो । पुराण अध्ययन गरेर अध्यायगत सारांश तयार भयो । प्रकाशनका लागि पोखरेलाई सहज भयो । अध्यात्मप्रेमीले उहाँका १८ वटै पुराण प्रकाशन गरिदिए । पोखरेलले प्रकाशक भेटेको घटना पनि रोचक छ । पुराणको अनुवाद गरिरहेका बेला आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछाने उहाँको घरमा पुग्नुभयो । लामिछानेले नै प्रकाशक संस्था विश्व स्वतन्त्र सञ्चारका उद्धवकुमार घिमिरेसँग परिचय गराउनुभयो ।

अठार पुराणमध्ये धेरै घिमिरेले नै प्रकाशन गरिदिनुभएको छ । केही पुराणका लागि भने उहाँले अध्यात्मप्रेमी प्रकाशकको व्यवस्था गरिदिनुभएको हो । १८ वटै पुराणलाई नेपालीमा अनुवादका लागि रु ६० लाखभन्दा बढी खर्च भएको छ । पहिलो संस्करणमा सबै पुराण एक÷एक हजारप्रति प्रकाशन गरिएको छ । शिव, अग्नि, भागवत र मार्कण्डेय पुराण बजारमा सकिइसकेको जानकारी आएको उहाँले दिनुभयो । ती पुराणका दोस्रो संस्करणको तयारीमा प्रकाशन संस्था लागेको छ । अमेरिकामा रहेका नेपाली समुदायले १८ पुराणका अध्यायगत नेपाली सारांशको माग धेरै गरेका छन् ।

पोखरेल यसलाई संस्कृतमा भएको लचकता बताउनुहुन्छ । नारद पुराणमा गणितका धेरै कुरा पाइएको बताउनुहुँदै उहाँ यो अत्यन्त वैज्ञानिक रहेको सुनाउनुहुन्छ । नारद पुराणमा गीत, सङ्गीतका विषय पनि समावेश गरिएको छ । “संसारका धेरै विश्वविद्यालयले किन संस्कृत भाषा अध्यापन गराउन थाले भन्ने कुराको रहस्य मैले पुराण गहिरिएर पढेपछि नै थाहा पाएको हुँ”, पोखरेलले भन्नुभयो ।

सेवानिवृत्त भएपछि जयतु संस्कृतम् संस्थामा समेत आबद्ध भएर उहाँले संस्कृत क्षेत्र र पूर्वीय दर्शनका लागि काम गर्दै आउनुभएको छ । हाल उहाँ जयतु संस्कृतम् संस्थाको अध्यक्ष हुनुहुन्छ ।

पुराणको गहिरिएर अध्ययन गर्ने क्रममा पोखरेलले स्कन्दपुराणका केही खण्ड भारतबाट प्रकाशन भएको मूल ग्रन्थमा नभएको तथ्य थाहा पाउनुभयो । सोही पुराणको हिमवत्खण्ड जहाँ नेपालका धेरै तीर्थस्थलको चर्चा छ । हिमवत्खण्ड योगी नरहरिनाथले प्रकाशन गर्नुभएको हो । मानसखण्ड नेपालका पश्चिमी भूभागका साथै भारतको कुमाउ, गढवाल लगायतक्षेत्रका तीर्थस्थलको वर्णन छ । मानसखण्ड पूर्व सचिव विष्णुप्रसाद खत्रीको नेतृत्वमा रहेको रामप्रसाद स्मृति संस्थाले प्रकाशन गरेको छ ।

यसैगरी, राम जन्मभूमिको चर्चा भएको सरयुखण्ड पनि भारतले प्रकाशन गरेको मूल स्कन्दपुराणको ग्रन्थमा उल्लेख गरिएको छैन । स्कन्दपुराणका अन्य तीन खण्ड पनि रहेको भन्ने चर्चा सुनेकाले त्यस विषयमा खोजी जारी राखेको पोखरेल बताउनुहुन्छ ।