• १२ साउन २०८१, शनिबार

चार प्रदेशले पाए मुख्यमन्त्री

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २८ गते । चार प्रदेशले बुधबार मुख्यमन्त्री पाएका छन् । मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाएका हुन् । 

मधेशमा यादव 

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ । यादवले ६३ जना प्रदेश सभा सदस्यको समर्थन पत्रसहित दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

प्रदेश सभामा १०७ जना सदस्य रहेकोमा सरकार गठन गर्न बहुमतका लागि कम्तीमा ५४ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यादवलाई नेकपा एमालेका २३, जसपा नेपालका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका छ, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, नेपाल सङ्घीय समाजवादी पार्टीका एक तथा स्वतन्त्र उम्मेदवार सुरिता साह, अनिरुद्धप्रसाद सिंहको समर्थन रहेको छ । नवनियुक्त मुख्यमन्त्रीले पुस २९ गते ११ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

यसैबीच नवनियुक्त मुख्यमन्त्री यादवले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीहरूको भागबन्डाको विषयमा सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको र शपथग्रहणपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । उहाँले सबै दलको सहयोग लिएर मधेश प्रदेशलाई हरेक तवरले समृद्ध बनाउनमा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहने बताउनुभयो ।

लुम्बिनीमा गिरी 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत सदस्यको समर्थनसहित दाबी प्रस्तुत गर्नुभएका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको छ । यसअघि प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा एमालेका शङ्कर पोखरेल र दोस्रोमा नेकपा (माओवादी केन्द्र)का कुलप्रसाद केसी बन्नुभएको थियो ।  रुपन्देही–२ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित गिरीलाई ५८ सदस्यको समर्थन छ । कुल ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, माओवादी केन्द्रका १०, जसपाका तीन, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, लोसपाका तीन, जनमतका तीन र स्वतन्त्र दुई गरी ५८ सदस्यको हस्ताक्षरसहित गिरीले बुधबार दाबी प्रस्तुत गर्नुभएको थियो । 

मुख्यमन्त्री गिरीको जन्म २०११ साल चैत १४ गते गुल्मी जिल्लाको रुरु गाउँपालिका–५ मा भएको हो । उहाँ अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आउनुभएको छ  । यसअघिको सरकारमा उहाँ उद्योग, वन, पर्यटन र वातावरणमन्त्री हुनुहुन्थ्यो । उहाँले केही समय आन्तरिक मामिला तथा कानुन र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी वहन गर्नुभएको थियो । मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा बिहीबार दिउँसो शपथग्रहण गर्नुहुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कर्णालीमा शर्मा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्मा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार शर्मालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नेकपा एमाले, राप्रपा र नेकपा (एकीकृत समाजवादी)सहित चार दलको समर्थनमा शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । कर्णालीमा माओवादीका १३, एमालेका १०, राप्रपाका एक र समाजवादीका एक जना सांसद रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । मुख्यमन्त्री शर्मालाई माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन छ । रुकुमपश्चिम प्रदेश सभा (ख)बाट शर्मा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सुदूरपश्चिममा रावल 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँ सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ । 

मुख्यमन्त्रीको बिहीबार अपराह्न ४ बजे शपथग्रहणको कार्यक्रम रहेको छ । रावलले २९ जना प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्नुभएको थियो । नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र)का ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक जनाको समर्थन उहाँले पाउनुभएको छ । 

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले केही दिनभित्रै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । उहाँले चुनौतीलाई अवसरका रूपमा लिएर समृद्ध प्रदेश बनाउनका लागि काम गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री रावलले प्रदेशमा रहेका छाउपडीजस्ता कुरीति हटाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

(राजविराज समाचारदाता धीरेन्द्रप्रसाद साह, धनुषा समाचारदाता धर्बेन्द्र झा, बुटवल समाचारदाता छविलाल पाण्डे, सुर्खेत समाचारदाता नवीन शाह, कैलाली समाचारदाता प्रकाशविक्रम शाह र धनगढी समाचारदाता अविनाश चौधरीको सहयोगमा)