• १३ साउन २०८१, आइतबार

निःशुल्क भिसामै ठगिए युवा

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस २६ गते । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ । 

देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन जना भतिजासमेत मलेसिया पुगेका छन् । अहिले उनीहरू नेपाल फर्काइदिन माग गर्दै आएका छन् । 

सर्तअनुसारको काम नपाएको र सेवासुविधासमेत नदिएको गुनासो गर्दै मलेसिया पुगेपछि श्रम विभागमा बुझ्दा ठगिएको जानकारी पाएको उहाँले जानकारी दिनुभयो । देवानगञ्जमा रहेका अभिभावकले अहिले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरिरहेको उहाँले बताउनुभयो । 

मेहताले एनआईसी एसिया बैङ्कमा रहेको आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गराएको देखिएको छ तर स्थानीयवासीले भने एनआईसी एसिया बैङ्कको नक्कली भौचर, नक्कली छाप प्रयोग गरेको आशङ्का गर्दै छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।  आफ्ना तीन जना भतिजा सन्तोष, सुबोध र दयानन्द यादवलाई सुरुमा फ्री भिसा, फ्री टिकटमा पठाउने भन्दै त्यसको न्यूनतम लागत माग गरेको काका गणेश यादवले बताउनुभयो । कागजात लिएर गएका मेहताले भिसा लागेपछि भने तीन लाख ५० हजार रुपियाँ लाग्ने भन्दै रकम मागेको आरोप छ । 

द्वितीया इन्टरनेसनल कम्पनीमार्फत श्रम विभागले उपलब्ध गराएको फ्री भिसा, फ्री टिकटमा विदेश गएका युवाको सम्पर्क व्यक्ति विजय मेहताले भने आफूलाई पनि फसाएको गुनासो गर्नुभयो । उहाँले सुरुमा पैसा नलाग्ने भनेपनि पछि सहमति र समझदारीमै विदेश जानेहरूले पैसा दिएको दाबी गर्नुभयो ।