• १३ साउन २०८१, आइतबार

म्यानपावर कम्पनीको शाखा विस्तार

blog

काठमाडौँ, पुस २५ गते । वैदेशिक रोजगार विभागको पुनः अनुमतिपछि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले उपत्यकाबाहिर धमाधम शाखा विस्तार गरेका छन् । विभागका सेवालाई प्रत्येक प्रदेशमा विस्तार गरिसकेको विभागले म्यानपावर कम्पनीका शाखा विस्तारका लागि पुनः अनुमति दिएसँगै ५० वटा म्यानपावर कम्पनीले विभिन्न जिल्लामा शाखा विस्तार गरेका हुन् । 

विभागका अनुसार केही वर्ष पहिले पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लामा सञ्चालित म्यानपावर कम्पनीबाट ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खारेजी गरिएको थियो । विभागबाट अहिलेसम्म ५० वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरूले पनि यस्तो अनुमति माग गरिरहेका छन् । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले अवैध एजेन्ट अर्थात् दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेकाले म्यानपवारले जिल्लामा राखेका एजेन्ट खारेज गरी म्यानपावरका शाखा विस्तारको अनुमति दिएसँगै शाखा खोल्ने क्रम बढेको जानकारी दिनुभयो । वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्ने अनुमति दिएको उहाँले जानकारी दिनुभयो । 

विभागका अनुसार वैदेशिक रोजगार ऐनले गरेको व्यवस्थाअनुसार दर्ता भएर सञ्चालित ८७६ वटा म्यानपावर कम्पनीमध्ये एक सयवटाले अनुमति लिएर शाखा विस्तार गरिसकेका छन् । नियमअनुसार प्रत्येक म्यानपावर कम्पनीले एउटा प्रदेशमा एउटा मात्रै शाखा खोल्न पाउनेछन् । शाखा खोल्नका लागि पाँच लाख रुपियाँ थप धरौटी थप्नुपर्नेछ । युवालाई रोजगारीको अवसरबारे बुझ्नसमेत काठमाडौँ आउनुपर्ने बाध्यता हटाउन शाखा राम्रो विकल्प भएको सङ्घका महासचिव सुजित श्रेष्ठले बताउनुभयो ।