• १२ साउन २०८१, शनिबार

चार व्यक्तित्व सम्मानित

blog

काठमाडौँ, पुस २४ गते । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले साहित्य र समाजसेवामा संलग्न चार व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा साहित्य तथा शैक्षिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै प्रा.डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिएको हो। 

कार्यक्रममा प्रा.डा. सुरेशराज शर्माले विशिष्ट व्यक्तित्व त्रिपाठीलाई ५५ हजार ५५५ रुपियाँसहित दैवज्ञ विशिष्ट स्रष्टा सम्मान प्रदान गर्नुभएको हो। त्यसैगरी अग्रज कवि जसराज किराँती, बालसाहित्यकार गोपालप्रसाद पोखरेल र समाजसेवी सीता पोखरेललाई पनि प्रतिष्ठानले पुरस्कृत गरेको छ। 

उहाँहरूलाई क्रमशः दैवज्ञ साहित्य पुरस्कार, दैवज्ञ बालसाहित्य पुरस्कार र दैवज्ञ समाजसेवा पुरस्कारसहित जनही तेत्तीस हजार ३३३ रुपियाँ पुरस्कृत गरिएको हो। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष लालानाथ सुवेदीले प्रतिष्ठानले यही वर्षदेखि नेपाली साहित्य तथा समाजसेवामा उत्कृष्ट, प्रेरणादायक कर्म गर्नुहुने चार स्रष्टा तथा व्यक्तित्वलाई नगदसहित सम्मान तथा पुरस्कार दिने निर्णय गरेअनुसार सम्मान तथा पुरस्कार प्रदान गरिएको बताउनुभयो। 

उहाँले बहुआयामिक व्यक्तित्व कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपानेको कीर्तिलाई चिरस्थायी बनाउन वि.सं. २०६८ माघ ७ गते तदर्थ समिति गठन गरेर प्रतिष्ठानले काम सुरु गरेकोमा यस वर्षदेखि सम्मान र पुरस्कार प्रदान गर्न सुरु गरिएको बताउनुभयो। कार्यक्रममा प्रा.डा. कुमार कोइरालाले सम्मानित स्रष्टा प्रा.डा. त्रिपाठीको समग्र व्यक्तित्वबारे चर्चा गर्दै नेपाली विषयमा विद्यावारिधि गरेर नेपालमा शोधपत्रबारे सैद्धान्तिक र प्राज्ञिक परम्परा बसाल्ने त्रिपाठी पहिलो व्यक्ति रहेको बताउनुभयो।

उहाँले प्रा.डा. त्रिपाठीले प्राध्यापक पेसासँगै नेपाली भाषा, साहित्यको उत्थानका लागि पु-याउनुभएको योगदानसँगै पाठ्यक्रम तयार गर्ने, साहित्यिक पुस्तकमा भूमिका, समालोचना गर्ने, साहित्यिक पत्र–पत्रिकाको सम्पादन र थुप्रै संस्थामा आबद्धता जनाएर  बौद्धिक उन्नयनको यात्रालाई आज पर्यन्त जारी राखेको बताउनुभयो। 

प्रा.डा. कोइरालाले समाजसेवी सीता पोखरेलले विगत ३५ वर्षदेखि पूर्वाञ्चल बालसेवा आश्रम सञ्चालन गरेर समाजसेवालाई निरन्तरता दिने उदाहरणीय काम गरेको चर्चा गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनकुमार न्यौपानेले कवि दैवज्ञराज न्यौपाने शीर्षकको कविता वाचन गर्नुभएको थियो। 

सुधा न्यौपानेको संरक्षकत्वमा गठित सो प्रतिष्ठानको करिब १७ लाखको कोषमार्फत विभिन्न साहित्यिक गतिविधि, कवि दैवज्ञराजका प्रकाशन गर्न बाँकी पाण्डुलिपिलाई पुस्तकका रूपमा  प्रकाशन गर्दै आएको छ।