काठमाडौं, पुस २३ गते। लक्ष्मण मल्ल एथलेटिक्स, साइक्लिङ र दुवाथलनको खेलाडी हुनुहुन्छ। धादिङ गल्छी स्थायी घर भएका मल्ललाई नेपाली खेलकुदमा रम्ने र जम्ने वातावरण विभागीय टोली नेपाल एपीएफ क्लबले पूरा गरिदिएको छ।
पहिला एथलेटिक्सका खेलाडी मल्लले एथलेटिक्स ट्र्याकमा राम्रो प्रदर्शन गरेपछि उहाँ विभागीय टोली एपीएफ क्लबमा भर्ना हुनुभएको हो। ‘‘एथलेटिक्समा राम्रो गरेको देखिपछि प्रशिक्षक सुशील नरसिंह राणाले मलाई सहयोग गर्नुभयो। विभागमा गएपछि एथलेटिक्स खेलकै सहयोगले साइक्लिङ र दुवाथलन खेल्न थालेँ। सबै खेलमा सफलता पाउनु मिहेनतको प्रतिफल हो,’’ ३२ वर्षीय मल्लले गोरखापत्र अनलाइनसँग भन्नुभयो। 
मल्लले एथलेटिक्स, साइक्लिङ र दुवाथलनमा गरेर अहिलेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ३६ वटा पदक जितिसक्नुभएको छ। उहाँलाई अहिले साइक्लिङसँगै दुवाथलनको लत बसेको छ। साइक्लिङ र रनिङ खेलको सम्मिश्रण प्रतियोगिता हो दुवाथलन। अप्ठेरो बाटोलाई सहज बनाउन मन लाग्ने बताउने मल्लले दुई पाङ्ग्रे साइकल र दुई खुट्टाको दौडलाई एकसाथ आफ्नो जीवनको लक्ष्य बनाउनुभएको छ। भविष्यमा यही खेलको माध्यमाबाट नेपाललाई एसियाली खेलकुदमा स्वर्ण जिताएर छाड्ने उहाँको लक्ष्य छ। 
‘‘साइक्लिङ महँगो खेल हो। यसमा औजार र खेलको तयारी प्रक्रिया निकै महँगो छ। नेपालमा खेलाडी भएर बाँच्न गाह्रो छ। आर्थिक अभावका कारणले राम्रो खेलाडी बिदेसिएका हुन्। विदेशमा जस्तो नेपालका प्रतियोगिता खासै हुन्न। खेलाडीलाई सुविधा पनि केही छैन। तर विभागीय टोलीमा भएकोले हामी जेनतेन खेलमा लागि रहेका छौँ,’’ मल्ल भन्नुहुन्छ। मल्ल जस्ता सयौँ खेलाडी अहिले एपीएफ क्लबमा हुनुहुन्छ। 
सहायक हवलदार पदमा रहनुभएका मल्ललाई विभागले तयारीका लागि प्रशस्त समय दिएको छ। निर्वाचन र विशेष समयमा सुरक्षा डिउटी गर्नुबाहेक खेल र अभ्यासमै खेलाडीको दिन बित्छ  त्यसैले त उहाँको बिहानी डाँडाकाँडा साइल दौडाउन र दौडिनमा बित्ने गरेको छ। 
‘‘मेरो साइकल ड्राइभसँगै सपना पनि दौडिएको छ। अहिलेसम्म धेरै उपाधि जितिसकेको छु। तर नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (सागं) अन्तर्गत पोखरामा भएको दुवाथलनमा रजत जित्नु ठूलो उपलब्धि हो,’’ मल्लले भन्नुभयो। १७ वर्षअघि धादिङबाट काठमाडौं छिर्दा व्यक्तिगत हिसाबले दौडिन सुरु गरेका मल्लको पाइला स्कुलस्तरीय प्रतियोगिता, रोड रेस हुँदै दुवाथोलनसम्म पुगेको छ। उहाँ कहिलेकाहीँ अल्ट्रा रेसमा पनि  सहभागी बन्दै आउनुभएको छ। 
काठमाडौंमा २०६५ सालमा भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा भाग लिनु भएका मल्लले सातौँ राष्ट्रिय खेलकुदसम्म एथलेटिक्समै सहभागी हुनुभयो। आठौँ राष्ट्रिय खेलकुदबाट दुवाथनलमा भाग लिन थाल्नुभएका मल्लले यहीलाई जीवनको अभिन्न अङ्क बनाउने अन्तिम लक्ष्य लिनुभएको छ।
दुवाथनल खेलबाट नेपाललाई चीनमा हुने एसियाली खेलकुदमा स्वर्ण जिताउने अठोट गर्नुभएका लक्ष्मण मल्लसँग गोरखापत्र अनलाइनका लागि गोविन्द रेग्मी, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो कुराकानी : 
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                