गाेरखापत्र अनलाइन
ललितपुर, पुस २३ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको आर्थिक र सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउनु अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।
शनिबार यहाँस्थित ज्वागलमा नेवाः पत्रकार राष्ट्रिय दबुुको चौंथाे राष्ट्रिय सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै उहाँले भन्नुभयो ।
'हामीले राजनीतिक उपलब्धि हासिल गरिसकेका छौँ । अब आर्थिक र सामाजिक परिवर्तन ल्याउनेगरी समावेशी विकासलाई अघि बढाउने हो।'
पञ्चायत कालमा भूमिगत राजनीति गर्दा पत्रकारिताका पुराना साथीहरूलाई कार्यक्रममा भेट्दा खुसी लागेको उहाँले बताउनुभयो, 'हामीले के गर्नुपर्ने हो ? सुझाव दिनुस्, हामी जनतामा निराशा आउन दिने छैनौँ।
सहभागी २९ जिल्लाका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले समस्या कहाँ छ भनेर औँल्याइदिन पनि पत्रकारहरूलाई अनुरोध गर्नुभयो।
कार्यक्रममा नेवा: पत्रकारितामा विशेष योगदान पुर्याएका पत्रकारहरूलाई नरेशवीर शाक्य, सूर्यप्रसाद लाकोजु, सरस्वती कर्माचार्य, सुरेश श्रेष्ठ, सुरेश ख्वाकः श्रेष्ठ, अनुशा बज्राचार्य सम्मानित गरिएको थियो।
प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ, प्रेस सेन्टरलगायत पेसागत निकाय र सङ्गठनहरूको सो सम्मेलनमा सहभागिता समेत थियो।
कार्यक्रम संस्थाका अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा उद्घाटन सत्र समापन भएको थियो । सम्मेलनले अध्यक्षसहितका नयाँ केन्द्रीय समितिको गठन गर्नेछ ।
–सम्मानित पत्रकारहरू