सुधा देव
भारदह (सप्तरी), वैशाख २६ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् । स्थानीय वीरेन्द्र राय (छोटु) की श्रीमती अनिता देवी राय बुधबार रातिदेखि सम्पर्कविहीन हुनुभएको हो ।
स्थानीयवासीले महिलाको हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् । छिमेकी शेखर रायका छोराको विवाहमा अधिकांश स्थानीय सुनसरीको अमरवा जन्ती गएको मौका छोपेर राति केही व्यक्तिले जबरजस्ती महिलालाई उठाएर लगेको हुन सक्ने पीडित परिवारको आशंका छ ।
बेपत्ता महिलाका बाबु प्रितम रायका अनुसार महिलाका दुई छोरी छन् । जेठी छोरी सपनाको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षीया काजल पनि छिमेकीको विवाहमा जानुभएको थियो । श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा रहेका कारण अनिता घरमा एक्लै हुनुहुन्थ्यो । यही मौका छोपेर पाँच–छ जनाको समूहले उहाँलाई अपहरण गरेको हुन सक्ने उहाँको भनाइ छ ।
स्थानीय कविता रायका अनुसार घटनाको रात घरमा बलेको चिमसमेत निभाइएको अवस्थामा भेटिएको थियो । महिलाका ससुराको निधन भइसकेको छ भने सासू छोरीसँग नारायणघाटमा बस्दै आउनुभएको छ । अनिता कान्छी छोरीसँग बस्दै आउनुभएको थियो ।
घरआँगनमा रगत देखिएकाले हत्या भएको हुन सक्ने परिवार तथा स्थानीयवासीको आशंका छ । स्थानीयका अनुसार महिलाको घरमा यसअघि पनि खसी, बोका, चामल र गहुँ चोरी हुने घटना हुँदै आएका थिए ।
घटना भएको थाहा पाउनेबित्तिकै परिवार र स्थानीयले खोजतलास गरे पनि महिलाको अवस्था अज्ञात रहेको छ । त्यसपछि प्रहरीलाई जानकारी गराइएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय राजविराज तथा इलाका प्रहरी कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । वडा नं. ५ का अध्यक्ष ललनप्रसाद राउतले महिला नभेटिएकाले घटना शंकास्पद देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरआँगनमा रगत देखिएकाले महिलाको हत्या भएको हुन सक्ने आशंका छ ।”
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटनाबारे जानकारी पाएलगत्तै खोजतलास सुरु गरिएको तर हालसम्म महिला फेला नपरेको जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको मोबाइल घरमै भेटिएकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।