अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख २६ गते । हिमाली जिल्ला म्याग्दीका दुई स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका छन् । सदरमुकामसमेत रहेको बेनी नगरपालिकाले शुक्रबार र मंगला गाउँपालिकाले बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण तथा उन्मूलन गर्दै शिशु तथा बाल मृत्युदर घटाउने र गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धतासहित बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिकी अध्यक्ष डिलकुमारी खत्रीले खोप मानव जीवनका लागि अपरिहार्य भएकाले यसबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य मानव जीवनको महत्वपूर्ण आधार भएकाले सबैले खोप लगाउनुपर्ने बताउनुभयो ।
बेनी नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लिलाकुमारी गौतमका अनुसार सबै वडामा घरधुरी सर्वेक्षण गर्दा १५ महिनामुनिका ३०१ जना तथा १६ महिनादेखि पाँच वर्षमुनिका एक हजार ७३ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि घोषणा गरिएको हो ।
१५ महिनासम्मका बालबालिकालाई बिसिजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डिपिटी, हेपाटाइटिस ‘बी’, दादुरा–रुबेला तथा जापानिज इन्सेफलाइटिसलगायत १४ रोगविरुद्ध ११ प्रकारका खोप लगाइने तालिका रहेको छ ।
त्यसैगरी, मंगला गाउँपालिकामा १५ महिनामुनिका १४० जना तथा १६ देखि ५९ महिनासम्मका ५६१ जना बालबालिकाले आवश्यक सबै खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले वैशाख ७ देखि ११ गतेसम्म सबै वडालाई पूर्ण खोप घोषणा गरेको थियो ।
बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत दिपेश पौडेलका अनुसार हाल नेपालभर १६ हजारभन्दा बढी खोप केन्द्रमा १७ हजारभन्दा बढी खोप सत्र सञ्चालन भइरहेका छन् ।
नेपालको संविधानको धारा ३५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्येक बालबालिकालाई पूर्ण खोप पाउने कानुनी व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा स्थानीय तह तथा वडा समितिको काम, कर्तव्य र अधिकारअन्तर्गत आधारभूत स्वास्थ्य सेवामा खोप सञ्चालनको व्यवस्था गरिएको छ ।
म्याग्दी जिल्लालाई २०७१ चैत १५ गते पूर्ण खोप घोषणा गरिएको थियो । त्यसयता सबै वडा र पालिकालाई हुँदै जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्दै आइएको छ ।