• २२ वैशाख २०८१, शनिबार

रतुवा खोला अवैध उत्खनन

blog

दमक समाचारदाता 

दमक, पुस २३ गते । झापाको दमक र इलामको चुलाचुलीको सीमाबाट बग्ने रतुवा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भएको पाइएको छ। खोलामा अवैध रूपमा जेसीबीको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थ झिकिरहेको सूचना पाएपछि निरीक्षणमा गएर त्यो रोक्न निर्देशन दिइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो।

दमक नगरपालिकामा बारम्बार भएको छलफलमा सरोकारवाला पालिकाले आपसी समझदारीमा तोकिएको ठाँउबाट मात्र र एकद्वार प्रणालीबाट खोला उत्खनन गर्ने सहमति भए पनि अवैध रूपमा खोला उत्खनन भएको पाइएको बताइएको छ। खोलामा ठूलाठूला खाल्डा बनाएर जोखिम नै सिर्जना हुने अवस्था देखिएपछि दुई पालिकाका जनप्रतिनिधिबीच पनि छलफल भएको थियो। 

थापाले भन्नुभयो, “एउटा समूहले अड्डा जमाएर अवैध उत्खनन गरेको भेटिएपछि रोक्न निर्देशन दिएका छौँ।” नगरपालिकाबाट गएको टोली र त्यहाँ अवैध रूपमा बालुवा उत्खनन गरिरहेको टोलीबीच विवाद सिर्जना भएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन्।

इलाका प्रहरी कार्यालय दमकको टोलीले अवैध उत्खननमा प्रयोग भएको जेसीबी र केहि टिप्परहरू नियन्त्रणमा लिएको जनाइएको छ। स्थानीय चुलाचुली गाउँपालिकाको एक वडाले सडक मर्मत सम्भारका लागि भनेर लिखित रूपमा दुई दिन जेसीबी प्रयोग गर्न अनुमति दिएको पत्र भेटिएको प्रहरी स्रोतको भनाइ छ। यसरी वडा कार्यालयले खोला उत्खनन गर्न दिनु नै अवैध रहेको छ। 

बर्सेनि अवैध रूपमा खोलानालाहरू उत्खननले गर्दा स्थानीयहरू समस्यामा पर्दै आएका छन्। खोलाले आफ्नो धार नै परिवर्तन गर्ने र आसपासको क्षेत्रमा ट्युबेलमा पानी नआउने समस्या हुँदै आएको छ। दमक–२ का वडाध्यक्ष प्रजापती सापकोटाका अनुसार अवैध रूपमा भइरहेको उत्खनन रोक्नलाई बारम्बार प्रशासनसँग हारगुहार गर्नुपर्ने अवस्था रहेको छ।