• १३ साउन २०८१, आइतबार

जिफन्टले आगामी चार वर्षमा २० लाख श्रमिक एकीकृत गर्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २१ गते । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले आगामी चार वर्षमा २० लाख श्रमिकलाई संस्थामा आवद्ध गराउने बताउनुभएको छ । त्यसको अभियान सुरु भइसकेकाले हरेक पालिका र वडाबाट श्रमिकको सूची लिने अभियान सुरु गर्न लागेको उहाँले बताउनुभयो । 

सञ्चारकर्मीसँग संबाद विषयक बिहीबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनुभएको हो । पर्यटन, विद्यालय, व्यापार व्यवसाथ, यातायात सबैतिर श्रमिकहरुको शोषण भइरहेको जनाउँदै उहाँले त्यसको एकीन तथ्याङ्क लिई समस्या समाधानमा जिफन्ट लाग्ने उहाँले बताउनुभयो । 

नेपालमा कति श्रमिक श्रमबजारमा काम गरिरहेका छन् र कति श्रमिक शोषणमा परेका छन् भन्ने सरकारसँग एकिन तथ्याङ्क नरहेको चर्चा गर्नुहुँदै अध्यक्ष श्रेष्ठले त्यसको लगत लिने काम जिफन्टले गरिरहेको बताउनुभयो । 

जिफन्तले सबै श्रमिकको पेन्सनको माग विगतदेखि उठाउँदै आए पनि अहिलेसम्म समाधान नभएको बताउँदे अध्यक्ष श्रेष्ठले श्रमिकको मुद्दा सम्बोधनका लागि मिडियासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

एमाले प्रचार विभागका सचिव गगन विष्टले श्रमिकको मुद्दा संवेदनशील रहेकाले त्यसमा मिडियाले साथ दिनुपर्ने बताउनुभयो । प्रचार विभागले त्यसबारेमा मिहिन ढंगले काम गर्ने योजना बनाएको पनि उहाँले चर्चा गर्नुभयो । 

जिफन्टका महासचिव महेन्द्र श्रेष्ठले जिफन्टले श्रमिकको मुद्दामा लामो समयदेखि पैरवी र समस्या समाधानको नेतृत्वदायी भूमिका निर्वाह गरे पनि मिडियासँगको समन्वयको अभावमा विषयलाई स्थापित गर्न नसकिएको बताउनुभयो । आगामी दिनमा श्रमिकको मुद्दा सम्बोधनमा मिडियाको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा सञ्चारकर्मीहरुले जिफन्टले स्थापनाकालदेखि श्रमिकको मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको भएपनि मिडियासँग सहकार्य र समन्वय गर्न नसक्दा जति सम्बोधनको काम हुनुपर्ने त्यति हुन नसकेको बताउनुभयो । श्रमिकको मुद्दा र विषय हेर्ने पत्रकारको समूह बनाएर विट रिपोर्टिङका लागि संस्थाले काम गर्नुपर्ने पत्रकारले सुझाव दिएका छन् । पत्रकार स्वयम् पनि श्रमजीवि वर्ग भएकाले जिफन्टसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका थिए ।