• १२ साउन २०८१, शनिबार

राखेप सदस्य सचिव र आइसिसी प्रतिनिधिबीच छलफल

blog

सदस्य सचिवसँग भेट गर्दै आईसीसीका प्रतिनिधि । तस्बिर : सौजन्य राखेप

काठमाडौं, पुस २१ गते । नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवाद बारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन् । आइसिसी प्रतिनिधिले विवादबारे बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङसँग छलफल गरेको छ ।

आइसिसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार नेपाल आएको हो । आइसिसी टोलीले बिहीबार नै त्रिवि मैदान कीर्तिपुर पुगेर टी–२० लिगको आयोजक, एन्टी करप्सन युनिट, रेफ्री, खेलाडीसँग पनि भेटघाट गरेको थियो ।

नेपाल टी–२० लिगमा खेल मिलेमतो भएको र स्पट फिक्सिङ चलिरहेको घटना बाहिरिएपछि गृहमन्त्रालयले पनि प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको छ ।यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत छानबिन गरिरहेको छ ।

राखेपले पनि घटनाबारे छानबिन गर्न बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भने खेल मिलेमतोको विषय केवल हल्लामात्र भएको जनाएको छ । क्यानले बुधबार  प्रेस विज्ञप्ति जारी गर्दै लिग जारी रहने पनि स्पष्ट पारेको छ ।