शिक्षा देश विकासको मेरुदण्ड हो । यसले दक्ष जनशक्ति विकासमा महत्वपूर्ण भूमिका खेल्छ । शिक्षाले विभिन्न विषयवस्तुको जानकारी प्रदान गरेर विभिन्न सिप र तालिममार्फत मानव संसाधन विकास गरिरहेको हुन्छ । अनुशासन, नैतिकता, सदाचार, जिम्मेवारी, कर्तव्य, भूमिका, प्रविधिको पहुँच र संस्कार संस्कृतिको र बौद्धिकताको प्रवर्धन जस्ता गुण र सिप विकास गरी देशलाई विकासतर्फ लम्काउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । शिक्षा भनेको मानव सभ्यता निर्माणका क्रममा विकास गरिएको भाषा, पोसाक, चाडपर्व, रहनसहन, धार्मिक विश्वास, नैतिक आचरण, संस्कृति, खानपिन, विवाह, व्रतबन्ध, छेवर, गुन्यूचोली जन्मदेखि मृत्युसम्मका काजकर्म आफ्नै संस्कार अनुरूप गरेर संस्कृतिको जगेर्ना गर्न पनि शिक्षाको आवश्यकता हुन्छ ।
शिक्षाले मानवजातिको जीवनपद्धति, वैचारिक दर्शन एवं सामाजिक क्रियाकलापमा उसलाई विकास गराउँछ । शिक्षा मानव आत्मीयता तथा वस्तुनिष्ठता, चरित्र, ज्ञान सिप र क्षमताको एक अभिव्यक्ति हो । मानव संसाधन विकास भनेको जनशक्तिको व्यक्तिगत तथा संस्थागत ज्ञान, सिप र क्षमता विकास गर्न सहयोग पु¥याउने एउटा प्रक्रिया हो । उसले संस्थाको जनशक्तिको ज्ञान, सिप र क्षमतालाई उत्कृष्ट रूपमा विकास गरी संस्थाको लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने उद्देश्य राख्छ । यस अन्तर्गत शिक्षा, तालिम, कार्यगत तालिम आदि प्रदान गरेर पदाधिकारीको क्षमता अभिवृद्धि गरिएको हुन्छ । यसमा राज्यले ठुलो लगानी खर्च गरेको हुन्छ ।
मानव संसाधनको ज्ञान, सिप, क्षमता अभिवृद्धि गर्नु नै मानव विकास हो । मानव विकास सन् १९८० को दशकको अवधारणा हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीमा कार्यरत पाकिस्तानी अर्थविद् महबुल हकको प्रयासबाट मानव विकासलाई समेट्ने उद्देश्यले मानव विकास सूचकाङ्कलाई उल्लेख गरी मानव विकास प्रतिवेदन प्रकाशन हुन थाल्यो । मानव क्षमताको उपभोग र गरिएको लगानीले विकासलाई सही मार्गमा डो¥याउने कार्य नै मानव विकास हो । मानव विकासले सशक्तीकरण, क्षमता विकास, जनकेन्द्रित विकास, ज्ञान, सिप, आय अभिवृद्धि आदि कुरामा जोड दिन्छ ।
मानव विकासले देशका जनताको क्षमता, ज्ञान अभिवृद्धि गर्न स्वास्थ्यमा सुधार तथा ज्ञान र सिपमा अभिवृद्धि गरेर अन्तरनिहित क्षमताको प्रयोग गर्न, वातावरणको सिर्जना गर्न मनोरञ्जनमा समय दिएर, उत्पादनशील कार्यमा समय खर्चेर, सामाजिक, सांस्कृतिक, राजनीतिक आदि क्षेत्रमा सक्रियता बढाएर मानव विकास प्रवर्धन गर्न सकिन्छ । शिक्षालाई सामान्य अर्थमा आदर्श, उत्सुक, जागरुक, कर्मशील, सहयोगी र उत्पादनशील नागरिक बनाउने सर्वोत्कृष्ट माध्यमको रूपमा लिइन्छ । वास्तवमा शिक्षाले प्रत्येक व्यक्तिमा भएको दक्षता, क्षमता, प्रतिभा, बानी व्यहोरा, आचरणको वृद्धि विकास गरी वास्तविक जीवन प्रयोगमा ल्याउन अहम् भूमिका खेलेको हुन्छ । शिक्षा व्यक्ति व्यक्ति हुँदै परिवार परिवार, समाज र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म समाजको उत्थानको लागि उपयोगी साधन शिक्षा हो । शिक्षाले मानवलाई आफ्नो हक, अधिकार प्राप्त गर्न उत्प्रेरित गर्छ ।
नेपालको संविधानको भाग ३ धारा ३१ मा शिक्षा तथा संस्कृतिसम्बन्धी हकको व्यवस्था गरिएको छ । प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा, निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने छ जस्ता संवैधानिक प्रावधान रहेका छन् । मानिस स्वभावतः प्रगतिशील प्राणी हो । ऊ बुद्धिको प्रयोगबाट आफ्नो समग्र परिस्थितिलाई निरन्तर सुधार र उन्नत गरिरहन्छ । यस्तो प्रत्येक जीवन पद्धति, रीतिरिवाज, रहनसहन, आचार विचार, नवीन अनुसन्धान र आविष्कार जसबाट मानवजाति, पशु र जङ्गली जनावर दर्जाबाट अलग भई माथि उठ्छ । सभ्य अनि सुसंस्कृत बन्छ । सोह्रौँ योजनाले आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्ने उद्देश्य लिएको छ । राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु सोह्रौँ योजनाको लक्ष्य रहेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सामाजिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु जस्ता लक्ष्य रहेका छन् ।
राज्यले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, यातायात, सञ्चार क्षेत्रका मानव संसाधन विकासका लागि भनेर स्पष्ट रूपमा बजेट छुट्याएर जनशक्ति विकास गरिरहेको अवस्था छ । शिक्षाले ज्ञान आर्जन गर्नु, सिप, योग्यतासहितको पद प्राप्त गर्नु, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक सुधार ल्याउने लोकतान्त्रिक मूल्य मान्यता अनुसार अधिकार र कर्तव्यप्रति सचेत रहनु, शिक्षाले सिप र योग्यता अनुसारको व्यवसाय सञ्चालन गरी आय आर्जन गर्नु, सञ्चार, सिप, संवाद, वार्ता, छलफल, तर्क, विचारको अभिव्यक्तिको विकास गर्नु, संवेग तथा आवेग, रिस, डाह, घमण्ड, द्वन्द्व आदि हिंसात्मक तथा अमानवीय गतिविधिलाई नियन्त्रण गर्नु, नेतृत्व, सिप तथा व्यक्तित्व विकास गर्नु, भाषिक सिपको विकास गर्नमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । शिक्षा समाजका सोच्ने, विचार गर्ने, कार्य गर्ने, खाने, पिउने, बोल्ने, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्षित हुन्छन् । शिक्षा समाजका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौतिक तथा आध्यात्मिक पक्षसँग सम्बन्धित हुन्छ । शिक्षा सामाजिक अन्तर्क्रिया एवं सामाजिक व्यवहारको उत्प्रेरक प्रतिमानको समुच्च स्वरूप जस्तो छ । यस समुच्चमा ज्ञान, विज्ञान, कला, आस्था, नैतिक मूल्य एवं प्रथा समाविष्ट हुन्छन् ।
मानव विकास अवधारणाले सन् १९८० को दशकमा आर्थिक वृद्धिसहितको मानव विकास गर्ने, गरिबी निवारण गर्ने, आधारभूत आवश्यकता पूर्ति गर्ने, दिगो विकास हासिल गर्ने, सामाजिक, सांस्कृतिक परिवर्तन गर्ने नीति लिएर अगाडि बढेको थियो । सन् २०१५ सम्ममा विश्वको गरिबीलाई आधा गर्ने, लैङ्गिक समानता वृद्धि, महिला सशक्तीकरण गर्ने, स्वास्थ्यमा सुधार ल्याउने, दिगो विकास सुनिश्चित गर्ने, विकासका लागि विश्वव्यापी सहकार्य विकास गर्ने जस्ता रणनीति र लक्ष्य लिएर अगाडि बढेको थियो । नेपालमा पनि विसं २०८० सम्ममा गरिबी २१ प्रतिशतबाट झरेर १८ प्रतिशमा पुगेको देखिन्छ भने महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, आय जस्ता कुरामा पनि परिवर्तन हुँदै आइरहेको छ । मानव विकास सूचकाङ्कलाई विभिन्न किसिममा विभाजन गरिएको पाइन्छ । राजनीतिक सूचकाङ्कभित्र राजनीतिक स्वतन्त्रता, निष्पक्ष निर्वाचन, मानव अधिकारको प्रत्याभूति आदि पर्छन् भने सामाजिक सूचकाङ्कभित्र औसत आयु लम्ब्याउने, साक्षरता बढाउने, तालिमको माध्यमबाट सिप विकास गर्ने, रोजगारीका अवसरहरूको सिर्जना गरी गरिबी निवारण गर्ने, बाल मृत्युदर घटाउने आदि रहेका छन् । त्यस्तै आर्थिक सूचकाङ्कभित्र प्रतिव्यक्ति आय बढाउने, कुल गार्हस्थ उत्पादन, पूर्वाधार विकास तथा भौतिक प्रगति रहेका छन् भने पर्यावरणीय सूचकाङ्कभित्र दिगो विकास, स्वच्छ पिउने पानी, सरसफाइ आदि पर्छन् । यी सूचकाङ्क अभिवृद्धि गर्न नेपाल सरकारले विशेष ध्यान दिनु जरुरी छ ।
नेपाल सरकारले दक्ष जनशक्ति उत्पादनका लागि उचित र समय सापेक्ष शिक्षा, स्वास्थ्य, आयु र आय जस्ता कुरामा समयसापेक्ष सुधार गर्दै आइरहेको छ । त्यस्तै शिक्षामा सरकारी विद्यालय, विश्वविद्यालय, निजी क्षेत्रका विद्यालयको गुणस्तर वृद्धि गरेर व्यावसायिक तालिम र सिप विकास गरेर रोजगारी क्षेत्रको पहिचान गरी जनशक्ति विकास केन्द्रको सुदृढीकरण गरेर देशमा सरकारले दक्ष, सिपयुक्त, रोजगारमूलक जनशक्ति उत्पादन गर्न सक्नु पर्छ । जसले युवा जनशक्ति विदेश पलायनको मार्ग कम हुन्छ भने देशमा शैक्षिक बेरोजगारमा पनि कमी आउने छ र सुखी, शान्त, समृद्ध तथा न्यायपूर्ण नयाँ नेपाल निर्माणमा सहयोग पुग्ने छ ।