सिराज खान
नेपालगञ्ज, पुस २१ गते । नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेक नेपालगञ्ज राँझाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले ज्ञान सीपको अधिकतम प्रयोग गरी दक्षता हासिल गर्दै सेनाको गरिमा उच्च राख्न निर्देशन दिनुभएको छ ।
श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेक नेपालगञ्जमा सञ्चालन भएको २४ औं सैन्य आधार तालिमको समापनमा बोल्दै तालिम प्राप्त गर्नुभएका सैनिकहरुलाई बाहिनीपति सहायक रथी विष्टले सो निर्देशन दिनुभएको हो ।
उहाँले तालिममा सफलतापूर्वक सहभागी भएकोमा बधाई दिँदै नेपाली सेनाको गरिमा कायम राख्दै कार्य क्षेत्रमा अब्बल बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली जनताको आस्थाको केन्द्र रहेको नेपाली सेनाको गरिमा र सम्मान उच्च राख्न सबै सैनिकले सचेत भएर काम गर्नुपर्नेमा सहायक रथी विष्टको विशेष जोड थियो ।
नौ महिनासम्म सञ्चालनमा रहेको सो तालिममा ९६ जना सहभागी थिए । तालिम समापनको अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका ७ जनालाई पुरस्कृत गरिएको थियो ।
तालिममा पुरस्कृत हुनेहरुमा सर्वोकृष्ट सैन्य मानबहादुर मगर, ५ किलोमिटर दौड मुकेशकुमार शाही, अफट्याकल सागर चौधरी, फायरिङ्ग रोशन तामाङ्ग, म्याप रिडिङ्ग विशाल विष्ट, ड्रिल अमित विष्ट र अनुशासनमा अर्जुन टमटा रहनुभएको थियो । पुरस्कृत हुनेहरुलाई श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति विष्टले तक्मा र सम्मानपत्र प्रदान गरेर पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल, सशस्त्र प्रहरी ३० नं. गणका गणपति जनक बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलगायतको उपस्थिति थियो ।