• ८ मंसिर २०८१, शनिबार

अष्टावक्रको दार्शनिक चिन्तन

blog

‘अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत्’ अर्थात् जो आफूलाई जान्दैन त्यो आफ्नै शत्रुतुल्य छ । आफूलाई जान्न, आफू आफ्नै शत्रु हुनबाट बच्न, आफूले आफूलाई चिह्न तथा म को हुँ ? भनी बोध गराउन धेरै महापुरुष तथा सद्गुरुहरूले जन्म लिनुभयो । हामीले उहाँहरूलाई चिन्न सकेनौँ र अहिले त्यस्ता कति सन्त, योगी, महात्माहरूको नाम–परिचय नै छैन । उहाँहरू चतुराक्षर शब्द इतिहासकै भएर पनि अस्तित्वको इतिहासमै मात्र अट्नुभयो, हाम्रो इतिहासमा अट्नु भएन । तैपनि हामी भाग्यमानी छौँ र गर्व गरौँ कि हाम्रो इतिहास र हाम्रो दर्शनमा दर्शन प्राप्त द्रष्टा अष्टावक्र हुनुहुन्छ । जो एक्लैको छहारीमा सबैले शीतलता प्राप्त गर्न सक्छाैँ । जसका वाणीका वाणले अज्ञानता र अन्धकारको जालो छेडी ज्ञानको आभामा प्रवेश गर्न सक्छौँ । जसको सामीप्यमा नबलेको दीपले ज्योति प्राप्त गर्छ भने मन्द ज्योति प्रज्वलित भई बल्छ ।

को हुन् अष्टावक्र ?

अष्टावक्र अरू कोही नभई तत्कालीन मिथिलाका राजा जनकका गुरु हुन् । मिथिलाका राजालाई जनक भनिन्थ्यो र त्यसमध्ये अष्टावक्रका शिष्य जनक मिथिला पुत्री सीताकै पिता हुन् भन्ने तार्किक विश्वास पाइन्छ । राजा जनकको मिथिला नै हालको जनकपुर हो जुन नेपाल राज्यअन्तर्गत पर्दछ र अष्टावक्रले पनि मिथिलामै बसेर राजा जनकलाई उपदेश दिएकाले उनी पनि नेपाली इतिहास र नेपाली दर्शनमा स्वतः अट्ने पात्र हुन् ।

धौम्य ऋषिका गुरुभक्त शिष्य आरुणि अर्थात् उद्दालकले आफ्ना प्रिय शिष्य कहोड़लाई वेदादि सम्पूर्ण शास्त्रको शिक्षा दिएर आफ्नी रूपवती एवं गुणवती कन्या सुजताको विवाह उनीसँग गराइदिए । विवाहको केही समयपछि सुजता गर्भवती भइन् । सदा झैँ जब कहोड़ वेदपाठ गर्दै थिए तब सुजताको गर्भभित्रबाट एक्कासि बालकको आवाज  आयो, “अब रोक्नुस् पिताजी, यो सबै बकवास हो । यसमा केही ज्ञान छैन मात्र शब्दकोे सङ्ग्रह हो । शास्त्रमा ज्ञान कहाँ छ ? ज्ञान त स्वयम्मा छ । शब्दमा सत्य कहाँ छ ? सत्य त स्वयम्मा छ ।” यसरी नजन्मेको बच्चाले गर्भमै छँदादेखि वेदका ऋचालाई असत्य तथा वेदविरोधी अपमानजनक शब्द सुन्दा पिता कहोड़ निरास भई “जन्मदा शरीर आठ ठाउँमा बाङ्गिएको, अष्टावक्र भएर जन्मिएस्” भनी बच्चालाई श्राप दिएकाले जन्मदा शरीर पनि सोही अनुरूपको भएकाले उनको नाम नै अष्टावक्र रह्यो भन्ने किंवदन्ती भेटिन्छ ।

अष्टावक्रको उद्घोष र अष्टावक्र गीताको जन्मराजा जनकको दरबारमा शास्त्रार्थ हुने गथ्र्यो । एक दिन  जब किशोर अष्टावक्र त्यस सभामा पुगे तब सबैजना अष्टावक्रको शरीर देखेर हाँसे र अष्टावक्र आफू  स्वयं पनि हाँसे । उनी पनि हाँसेको देखेर आश्चर्य मान्दै “सभाका सबैजना तिमीलाई देखेर हाँसे तर तिमी चाहिँ किन हाँस्यौ ?” भनी जनकले प्रश्न गर्दा अष्टावक्रले भने “म नदेखी मेरो छाला र शरीर मात्र देख्ने चमारहरूको सभा देखेर हाँसेको हुँ राजन ।” त्यति सानो बालकको यस्तो गहन जवाफ सुन्दा जनक यति धेरै प्रभावित भए कि उनी बालक अष्टावक्रको शरणमा परी “ज्ञान कसरी प्राप्त हुन्छ ? मुक्ति कसरी मिल्छ ? वैराग्य कसरी हुन्छ ? हे प्रभु, मलाई बताउनुहोस्” भन्ने जनकको प्रश्नसँगै  अष्टावक्र गीता प्रारम्भ भएको छ । ‘अष्टावक्र गीता’ राजा जनकको ज्ञान प्राप्ति र मुक्तिको जिज्ञासामा अष्टावक्रको मुखारविन्दबाट निस्केका दिव्योपदेशलाई राजा जनकले सङ्ग्रहित गरी बनाएको एक ग्रन्थ हो । लाओत्सेको प्रख्यात पुस्तक ताओ ते चिङग नै उनलाई चिन्ने र चिनाउने माध्यम भएजस्तै अष्टावक्रको जीवनका घटनाक्रमहरू खासै नभेटिए पनि अद्वेत वेदान्तको महìवपूर्ण ग्रन्थ ‘अष्टावक्र गीता’ हाम्रो सामुन्ने छ ।

अष्टावक्र गीताको गहिराइ

अष्टावक्र गीताको अध्ययन गर्दा र पढ्दा जान्नै पर्ने, बुझ्नै पर्ने कुरा यो छ कि पूरै अष्टावक्र गीतामा; अष्टावक्र जनकको शरीरसँग बोलेका हैनन् ! जनकको मनसँग पनि बोलेका हैनन् न त उनको बुद्धिसँगै बोलेका हुन् । त्यसो भए अष्टावक्र कोसँग बोलेका हुन् त ? विचार गरौँ त, हामी शिव नामको कसैसँग बोल्दै छौँ भने केलाई शिव ठानेर बोल्दै छौँ ? उनको शरीर, उनको मन, या उनको बुद्धि ? हाम्रो उत्तर यिनै तीनमध्ये एक हुन्छ । तर अष्टावक्रको दृष्टि यति शुद्ध थियो कि उनले जनकलाई हेर्दा त्यो निराकार र शाश्वत नै देखे । ‘जनकको घर’ भने जस्तै शरीर पो जनकको हो त तर यस ‘जनकको’ शब्दमा ‘को’ हटाउने हो भने बाँकी रहेको ‘जनक’ चाहिँ को हो त ? अष्टावक्र उनीसँगै बोल्दै थिए जो साँच्चैमा जनक हो, साक्षी हो, चेतन तत्व द्रष्टा हो ।

हामीमा  अष्टावक्र गीताभित्रको यो रहस्यको बोध भयो भने अष्टावक्र गीता मात्र हैन, वेदादि सम्पूर्ण शास्त्रहरूको सार बुझ्यौँ । अष्टावक्र गीताको आदिदेखि इतिसम्म अष्टावक्रले जनकलाई विस्मरण भएको यही कुराको स्मरण गराउँदै छन् कि “तिम्रो स्वरूप यस्तो छ, तिम्रो स्वभाव यस्तो छ, तिम्रो गुण यस्तो छ । हे प्रिय शिष्य जनक तिमी यो हैनौँ, त्यो हैनौँ । सुख–दुःख, बन्धन–मोक्ष, धर्म–अधर्म, शुभ–अशुभ यी यस्ता कुनै सम्बन्ध तिम्रा लागि हैन । पञ्चमहाभूत तिमी हैनौँ । तिमी जो छौँ आफूमा शुद्ध छौँ । शक्ति, शान्ति र ज्ञान तीनैले परिपूर्ण छौँ । पवित्र, प्रेमपूर्ण, अविनाशी तथा आनन्दित छौँ । विषयलाई विष समान छाडिदेऊ र क्षमा, दया, करुणा, सन्तोष र सत्यको अमृत समान सेवन गर । तिम्रो बन्धन यही हो कि तिमी आफूलाई छोडेर बाँकी सबैलाई द्रष्टा देख्छौ । आफ्नो स्वरूप भुलेर एक नदेखि संसार देखिरहेका छौ तर अद्वेत नै तिमी हौ । तिमी आँखा आदि इन्द्रियको विषय हैनौ । तिमी त असंग र निराकार सबैको साक्षी चेतना हौ, यही सत्य हो । यो संसार भ्रम मात्र हो । तिम्रै अज्ञानका कारणले संसार रहेको अनुभव भएको हो । संसार रूपी समुद्रमा तिमी नै एक मात्र थियौ, छौ र हुनेछौ । सबै ठाउँमा अल्झिएको ध्यानलाई त्याग गरी हृदयमा केही पनि धारण नगर तिमी मुक्तस्वरूप आत्मा हौ ।”

अन्य शास्त्रभन्दा अष्टावक्र गीताको विशेष महानता

अष्टावक्रले त्यस उचाइबाट बोलेका छन् जुन द्रष्टालाई दर्शनमा उतार्न सक्ने अन्तिम विन्दु हो । पतञ्जलीको अष्टाङ्ग योगका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिजस्ता कुनै मार्गका कुरा नगरी अष्टावक्रले अन्तिम जे हो; एकैचोटि त्यही समाधिको अवस्थाको सम भावको बारेमा बोलेका छन् । उनले भक्ति, साधना, अनुशासन आदिको केही कुरै गरेनन् तर यी सबैबाट पुगिने अन्तिम कैवल्यको बारेमा बोल्दै “तिमी नै कैवल्य हौ” भनी जनकलाई भनेका छन् । ‘आफूले आफूलाई चिन्नु’ नै अध्यात्म हो र उनको पूरै जोड अध्यात्ममा देखिन्छ । वेद, उपनिषद्, पुराण, कुरान, बाइबल, धम्मपद, वचनामृत, स्मृति ग्रन्थलगायतका सम्पूर्ण धर्मग्रन्थ र वेदान्तको सार नै अष्टावक्रले इसारा गरेको तìव ज्ञान हो । 

शास्त्र शशी हैन तर शास्त्रले शशीको इसारा गरेको छ । शास्त्रीय ज्ञान कहाँ आत्मज्ञान हो र ! तत्व ज्ञानको वा भनौँ स्वयम्को बोध भएपछि शास्त्रको गङ्गा आफैँबाट बग्नेछ तर शास्त्र रट्दैमा ज्ञानको समुद्र र आत्माको गहिराइमा कहिल्यै पुग्न सकिँदैन । सायद अष्टावक्रले गर्भमा छँदा यही भन्न खोज्नुभएको थियो होला न कि वेदको अपमान गर्न खोज्नु भएको ।

मुमुक्षुका लागि अष्टावक्र गीता

यसरी अष्टावक्रले भन्दाभन्दै त्यतिखेरै जनकलाई बोध भई स्वयम् आफैँबाट ज्ञान प्रवाहित भई “म यो हुँ, यस्तो हुँ” भनी जनकले पनि अष्टावक्रलाई सुनाएको कुरा अष्टावक्र गीतामा भेट्न सकिन्छ । अष्टावक्र गीतामा लेखिएका तिनै शब्दले जनकमा जे घट्नु थियो, जे बोध हुनु थियो त्यो भयो तर तिनै शब्दले हामीलाई चाहिँ किन बोध हुन सकेन ? किन मौन हुन सकिएन र अद्वेतको बोध हुन सकेन ? अष्टावक्रको दर्शन जनकका लागि मात्र हैन तपाईं, म र हामी सबैका लागि हो । प्यासीका लागि यो शास्त्रको महìव पाँच हजार वर्षअघि जति थियो अहिले पनि त्यति नै छ र पाँच हजार वर्षपछि पनि त्यति नै रहनेछ । तथापि यो शास्त्र जनमानस माझ ओझेल पर्नुमा एक मात्रै कारण यसको महानता हो किनकि यसका कुरा नै गुह्य छन् । कुरुक्षेत्रबाट श्रीकृष्णले श्रीमद्भगवद्गीताको उपदेश दिनुभएको थियो भने मिथिलाबाट गुरु अष्टावक्रले अष्टावक्र गीताको । सन्त र सज्जनहरू जन्मने यस भूमिमा अष्टावक्र गीताले सुनमाथि सुगन्ध थपेको छ । अष्टावक्रले औँल्याएको बाटो लागौँ सुन्दर र शान्त नेपाल बन्छ र हामी पनि हाम्रा राष्ट्रिय विभूति जनक जस्तै ज्ञानी बन्छौँ । सुख, सत्य तथा ज्ञान प्रप्तिका लागि जनक जति प्यासी थिए हामी पनि त्यति नै प्यासी र आतुर छौँ । यति मात्र फरक छ कि अन्ततः जनकले आफूमा खोजे तर हामी भने अझै पनि बाहिरै खोजिरहेका छौँ । प्यास उठेको त आफैँभित्रबाट हो नि तर हामी बाहिर खोज्छौँ ।


सुख नै खोज्न तिमीभित्र हेर

तिर्खा लागे हुन्छ कहाँ पौडेर

भित्रको अन्धकार मेटाउनलाई

हुँदैन कहिल्यै बाहिर दियो जलाई

खोजेर भेटिन्न है त्यो कहिल्यै

तिम्रै साथमा हुन्छ त्यो जहिल्यै

रोकेर तिमी बाहिरको दौडधुप

बसेर एकछिन चिन आफ्नो रूप

म को हुँ ? भन्ने कुरा पाए हुन्छ थाहा

अज्ञान त्यसै आगोमा परी हुन्छ स्वाहा ।