• २३ असार २०८१, आइतबार

स्पान्योलसँग बार्सिलोनाको बराबरी

blog

स्पान्योलविरुद्ध गोलको खाता खोलेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस १७ गते । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १०/१० खेलाडीमा समेटिएका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना अङ्क बाँड्न बाध्य भएको हो । बार्सिलेनाको बराबरीले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ । बार्सिलेनाका लागि मार्कोस अलन्सोले सातौँ मिनेटमा गोल गर्नुभएको थियो । स्पान्योलका जोसेलुले ७३औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काउनुभयो ।

बराबरी पछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए । ७८औँ मिनेटमा जोर्डी अल्बा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनुभएको थियो । ८०औँ मिनेटमा  भिनिसियस डी सोउजा कोस्टा पनि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि स्पान्योल पनि १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले १५ खेलबाट ३८ अङ्क बनाएको छ । समान ३८ अङ्क बनाएको रियल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । बार्सिलोनासँग अङ्क बाँडेको स्पान्योल १३ अङ्कसहित १६औँ स्थानमा छ । अन्य खेलमा भिल्लारियलले भ्यालेन्सयालाई २–१ र रियल सोसिडाडले ओसासुनालाई २–० गोलले हराएको छ । एजेन्सी