• १० मंसिर २०८१, सोमबार

रगतको नातासँग बिछोडिएकाहरू

blog

नेपाली साहित्यको क्षेत्रमा लक्ष्मी श्रेष्ठ अपरिचित नाम होइन । कविता, संस्मरण आदि विधामा कलम चलाउँदै आउनु भएकी उहाँको वि.सं. २०१७ मा ‘सुन्दरीजल’ र वि.सं. २०२० मा ‘तिम्रो सम्झनामा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित छन् । यसपछि वि.सं. २०२१ मा अर्को संस्मरणात्मक कृति ‘न्युयोर्क कोरोना डायरी’ को प्रकाशनपछि उहाँ वि.सं. २०७९ (सन् २०२२) मा आफ्नो चौथो तर पहिलो कथाकृति ‘खुला जेल’ मार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखा पर्नुभएको छ । अत्यन्त व्यस्त जीवनबाट अलिकति समय निकालेर भए पनि नेपाली साहित्यको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीले प्रेरित भएर लाग्–छाड् लाग्–छाड् किसिमले नै भए पनि कलम चलाउँदै आउनु भएकी उहाँका केही गीत पनि युट्युबमा प्रसारित छन् । 

उहाँको ‘खुला जेल’ शीर्षकको प्रस्तुत कथा सङ्ग्रह अमेरिकामा बसोबास गर्दैै आएका विविध जीवन–सन्दर्भका तथ्य र यथार्थमा आधारित छन् । यसमा आफ्नो आँखामा अमेरिकाको सुन्दर सपना सजाएर त्यहाँ पुगेका विविध व्यक्तिको मनोवैज्ञानिक विश्लेषण गरिएको छ । कथाकारले त्यहाँको जीवन भोगाइको यथार्थ सत्य प्रकटीकरण गर्ने किसिमका साझा र प्रतिनिधिमूलक आफ्ना १६ वटा कथा यसमा समावेश गर्नुभएको छ । नियतिवश आफ्नो जन्मथलो र जन्मभूमि छोडेर अमेरिका पुगी यसैलाई कर्मथलो बनाएका नेपाललगायत अन्य देशका नागरिकका जीवन–सङ्घर्षका विविध पक्ष र आयामको सूक्ष्म विवेचना कथाहरूमा गरिएको पाइन्छ । यसै पृष्ठभूमिमा कथा लेखिएका छन् र तिनले विवशता र बाध्यतावश वा रहरले गर्दा पनि जन्मस्थल, जन्मभूमि अनि नाता–सम्बन्धबाट समेत बिछोडिएर टाढा पुगेका मानिसहरू त्यहाँ के–कस्ता समस्यासँग जुध्न विवश छन् भन्ने यथार्थमा प्रकाश पारेका छन् । 

लक्ष्मी श्रेष्ठको यो कथा सङ्ग्रहमा सङ्गृहीत सबै कथा विषयप्रधानभन्दा पनि बढी भावप्रधान अनि कारुणिक बन्न पुगेका छन् । काठमाडौँको सुन्दरीजल, नयाँपाटीबाट अमेरिकामा पुगी लामो समयदेखि त्यहाँ बसोबास गर्दै आउनु भएकी कथाकार लक्ष्मी श्रेष्ठ ‘बैङ्क अफ अमेरिका’ (न्युयोर्क) मा कार्यरत रहनु भएकोले पनि कथाहरू बाह्य विषयवस्तु प्रधानभन्दा अनुभव र अनुभूतिप्रधान बन्न पुगेका छन् । एक किसिमले प्रवासी जीवनको छायानुवाद नै गर्ने काम कथाहरूले गरेका छन् । यसभित्र भावशुद्धिमा आधारित भावसघनताको पक्ष प्रबल बनेर उभिएको छ । 

यसले जीवनमा सबैभन्दा भर गर्नुपर्ने आफ्नै जीवन कुनै भर नभएको जीवनका रूपमा किन र कुन रूपमा परिभाषित हुन पुगिरहेको छ भन्ने मार्मिक प्रसङ्गलाई राम्ररी उद्घाटित गर्न पुगेको छ । एक्काइसौँ शताब्दीको आजको समय–सन्दर्भमा आशै–आशको परिवेशमा बडो यत्नपूर्वक सास सँगालेर आफ्नो जीवनमा नयाँ र नौलो बिहानी ल्याउने उद्देश्यका साथ त्यहाँ पुगेका आजको युवा पुस्ताले विविध किसिमका सङ्घर्ष गर्दै स्वतन्त्रता र समानताको मसाल बोकेर उभिएकी न्यायमूर्ति (स्ट्याच्यू अफ् लिबर्टी) मा स्वतन्त्रताको परिभाषा खोज्दै किन र कुन रूपमा एक किसिमले बन्दी जीवन बिताउन बाध्य हुनुपरेको छ ? उनीहरू चाहेर पनि त्यहाँबाट किन उम्कन सक्दैनन् ? भन्ने यथार्थमा प्रकाश पार्ने काम ‘खुला जेल’ शीर्षकको कथाले गरेको छ । यो शीर्षकको अन्य कथासँग पनि तालमेल जोडिएको छ र पुस्तकको शीर्षक ‘खुला जेल’ अत्यन्त सार्थक बन्न पुगेको छ ।

‘एक्स गर्लपे्रmन्ड’, ‘ग्रीन कार्ड’, ‘सरोगेट मदर’, 

‘पीडाभित्रको खुसी’, ‘नियतिको खेल’, ‘तुहिएको सपना’, आदि शीर्षकका कथाले अमेरिकी परिवेशका सामाजिक जीवन–भोगाइ, मानिसले सँगालेका आशा–निराशा, विविध किसिमका उदेक लाग्दा सामाजिक संस्कार र संस्कृति, सङ्गति र विसङ्गति, यान्त्रिक जीवन पद्धति, मानिसले मानिसलाई हेर्ने, बुझ्ने र जान्ने सोच, दृष्टिकोण र व्यवहार अनि मानिसका विविध संदिग्ध चरित्र आदि समग्र पक्षको राम्रो परिचय पाउन सकिन्छ । ‘उप्केको खाटा’ शीर्षकको कथा भने फ्रान्सबाट न्युयोर्क पुगेकी जेलिनाको कथा हो । यसमा सरल हृदयकी स्वाभिमानी, आत्मसम्मान र त्यागकी प्रतिमूर्ति जेलिनाले जीवनमा के–कस्तो धोका पाइन् ? उनका जीवनको सम्पूर्ण इच्छा, आशाहरू किन, कसरी र कुन रूपमा तुहिन पुगे ? भन्ने मार्मिक प्रसङ्ग छ ।

लक्ष्मी श्रेष्ठको कथात्मक कृति ‘खुला जेल’ मा सङ्गृहीत सबै कथा मार्मिक र हृदयस्पर्शी छन् । कथाका केही ठाउँमा कथाकारभित्रको दार्शनिक पक्ष पनि प्रकटीकरण हुन पुगेको छ । “कहिलेकाहीँ तुवाँलो र बादलले छेकेर सूर्यको न्यानो स्पर्श पाउन गाह्रो भए पनि यो धु्रवसत्य छ, तुवाँलो र बादलको चुनौतीको बाबजुदपछि पनि प्रत्येक बिहान सूर्य उदाएकै हुन्छ । सूर्यलाई उदाउनबाटै छेक्ने र रोक्ने शक्ति न त बादलसँग छ न त तुवाँलोसँग नै” भन्ने ‘सूर्योदय’ शीर्षकको कथामा उल्लेख भएको उक्ति यसको एउटा दृष्टान्त मात्र हो । यस्ता अनेकौँ कथन कथामा समाहित छन् । 

कथोपकथन शैली पनि सरल नै छ तर यो बढी वर्णनात्मक र विरणात्मक हुन पुगेको छ । कथ्यशैली प्राञ्जल र सुरुचिपूर्ण बन्न सकेको छैन । पात्रका अभिव्यक्तिलाई सुन्दर, प्रभावपूर्ण र आकर्षक बनाउन कथ्यशैलीलाई तार्किक र आलङ्कारिक तुल्याइ पद, पदावली अर्थात् पदरचनालाई नै विशिष्ट तुल्याउने दिशामा कथाकारको ध्यान आकृष्ट हुनुपर्ने देखिन्छ । केही कथाहरू निकै लामा (तीस पृष्ठसम्मका पनि) छन् । ‘ग्रीन कार्ड’, ‘भाग्यले ठगेको मान्छे’, ‘आ–आफ्नौ कथा’, ‘अपूरो कथा’ आदि शीर्षकका कथाहरू यसका उदाहरण बनेका छन् । नेपाली भाषामा तात्पर्य प्रस्ट पारिए तापनि कथाका अनेकौँ ठाउँमा प्रयोग भएका अङ्गे्रजी उच्चारणका शब्द, वाक्यांश, वाक्य र अनुच्छेद निकै बोझिल लाग्छन् । यसभित्र हिन्दी भाषाका विविध उक्तिलाई पनि स्थान दिइएको छ । 

‘खुला जेल’ शीर्षकको प्रस्तुत कथात्मक कृतिले खासगरी अमेरिकाको न्यूयोर्क सहर र त्यहाँको जनजीवनको वास्तविकतालाई भने अत्यन्त नजिकैबाट स्पर्श गर्न सकेको छ । मूल रूपमा त्यहाँ पुगेका नेपालीहरूको मानसिक उथलपुथल र विविध किसिमका मानसिक अवस्थाको मनोवैज्ञानिक विश्लेषण कथाकारले गर्नुभएको छ । कल्पना र अनुमानकै आधारमा आँखामा भविष्यको सुन्दर सपना सजाएर बत्तीमा पुतली होमिएझँै होमिने नेपालीहरूको विदेश प्रस्थानप्रतिको मोह अति नै सोचनीय विषय बन्न पुगेको यथार्थमाथि कथाहरूले मनग्य प्रकाश पारेका छन् । यसमा जीवन–यथार्थको स्वाभाविक चित्रण छ । कथा पढ्दै जाँदा कथाका पात्रहरूको सुख दुःखको प्रसङ्गलाई पाठक आफ्नै सुख दुःखका रूपमा आत्मसात् गर्न पुग्छ । यो कथाकार लक्ष्मी श्रेष्ठको कथा–लेखनको सफलता र विशेषता बनेको छ । रत्न पुस्तक भण्डारबाट प्रकाशित र जम्मा २३२ पृष्ठमा विस्तृत यो कथा सङ्ग्रहको मूल्य ३५०/– स्वाभाविक नै लाग्छ । 

समग्रमा भन्नु पर्दा मानिसको बाँच्ने इच्छा केवल जीवन गुजार्ने सङ्र्घषमै सीमित भइरहेको छ । आजको एक्काइसौँ शताब्दीको समय–सन्दर्भमा पनि मानिस आपूm मानिस हुनुको वास्तविक जीवन बाँचिरहेको छैन । उसले केवल जसोतसो जीवन गुजारिरहेको छ – घिसारिरहेको छ । उसको सम्पूर्ण जीवन–पद्धति मानवीय मूल्य र मान्यताअनुरूपको जीवन बाँच्ने प्रक्रियातर्पm अझै उन्मुख हुन सकिरहेको छैन । मानिसले जीवन बाँच्ने सही आधार र परिवेश नै पाउन सकिरहेको छैन भन्ने तथ्यमा ‘खुला जेल’ शीर्षकको यो कथा सङ्ग्रहले समीचीन प्रकाश पारेको छ । यही कारणले गर्दा पनि कथाहरू पठनीय बन्न सकेको पाइन्छ ।