• १० मंसिर २०८१, सोमबार

डोय राज्यको जनभाषा

blog

- शीतल गिरी

सबभन्दा पहिले गणतन्त्रको स्थापना वैशालीमा भएको थियो । संसारको प्रजातान्त्रिक व्यवस्थाका लागि बज्जि गणराज्य धेरै नाम चलेको थियो । केही मानिसका भनाइमा इक्ष्वाकु वंशका नौ जना राजाले शासन गरेको र तिनीहरूकै नाममा यसको नाम विशालपुरी वा विशालगढ अर्थात् वैशाली भनिएको हो । 

केही मानिसको भनाइमा तथागतको समयमा यहाँ बौद्ध सङ्घको स्थापना भएको थियो । जैन धर्मको चौतीसौँ तीर्थकर वर्धमान महावीरको जन्म यसै वैशालीको कुण्डग्राममा भएको थियो । वाल्मीकि रामायणमा चर्चित विशालपुरी र बुद्ध महावीरकालीन वैशालीमा भौगोलिक दृष्टिले भिन्नता हँुदाहुँदै पनि विशालता सन्निहित छ ।

आज पनि जब कहिल्यै वर्धमान महावीर, बुद्ध, पिङ्गलकीर्ति, अम्बपाली, गयाधर, रत्नाकर आदिको कर्मभूमिको चर्चा हुने गर्छ, तब बज्जि भूमिको गौरव अझ बढ्ने गर्छ । वाल्मीकि रामायणअनुसार वैशालीको तेत्तीसौँं राजा सुमतिले रामलक्ष्मणको राजकीय सत्कार गरेका थिए । यो बेला रामलक्ष्मण मुनि विश्वामित्रका साथमा सीता स्वयंवरका लागि जनकपुर जाँदै थिए । इतिहासकारहरूको मान्यतामा वैशाली गणराज्यको स्थापनापछि दोस्रो पुस्तामा विदेह राज्यको स्थापना भएको थियो । जतिखेर संसार राजतन्त्रको पञ्जामा जकडिएको थियो, त्यतिखेर बज्जि, लिच्छवि, ज्ञातृक, विदेह, उग्र, भोग, इक्ष्वाकु र कुसको प्रथम गणराज्य स्थापनाको २४ वर्ष पूरा भएर लोकतान्त्रिक शासनको सफल सञ्चालनको एउटा आदर्श कायम गरिसकेको पाउँछौँ, जुन सर्वविदित नै छ । प्राचीन कालमा यो धेरै शक्तिशाली प्रजातान्त्रिक गणराज्य थियो । सुरक्षाको दृष्टिकोणले यो तीनवटा पर्खालले घेरिएको थियो, जसको बीचमा विशाल महल थियो । 

त्यसको बीचमा रहेको मङ्गल अभिषेक पुष्करणीको जलको उपयोग राज्याभिषेकको समयमा गर्ने गरिन्थ्यो । यो पोखरीलाई फलामे तारको जालीले छोपिएको थियो । गङ्गा नदीको आधा भाग बज्जि सङ्घ र आधा भाग मगध गणराज्यमा थियो । बज्जिहरूको एकदम ठूलो संसद् भवन थियो, जसमा सात हजार ७७७ मानिस एकसाथ बसेर भाग लिन सक्दथे । प्राचीन अर्थशास्त्री कौटिल्यको साहित्यमा वृजि र लिच्छवि सङ्घको उल्लेख पाइन्छ । 

हुएनसाङले पनि यसको चर्चा आफ्नो पुस्तकमा गरेका छन् । जैन धर्मका चौबीसौँ तीर्थकर वर्धमानको जन्म पनि वैशाली नगरीमा भएको हो र उनले सम्पूर्ण विश्वमा अहिंसाको सन्देश दिए । डा. ग्रियर्सनले आफ्नो प्रामाणिक ग्रन्थ ‘लिङ्ग्विस्टिक सर्वे अफ इन्डिया’मा बज्जिका भाषालाई पश्चिमी मैथिली नाम दिएका छन्, अर्थात् मैथिलीको बिग्रिएको रूप भनेका छन् । महापण्डित राहुल साङ्कृत्यायनले बज्जिका भाषाको चर्चा उनको पुस्तक ‘आज की समस्या’मा सङ्कलित लेख ‘मातृभाषाकी समस्या’अन्तर्गत सङ्गृहित छ । बज्जिका नेपालको सर्लाही, रौतहट र बारामा बोलिने प्राचीनतम जनभाषा हो, यसको मैथिलीसँग कुनै सम्बन्ध छैन । 

बज्जिका तत्कालीन डोय राज्यको जनभाषा हो । प्राचीन बज्जि सङ्घको भाषा भएको हुँदा यसलाई वृजिका, वैशालीको भाषा, बज्जिका आदि नामबाट सम्बोधन गर्ने गरिन्छ । छैटौँं शताब्दीको अन्त्यसम्ममा वैशालीबाट लिच्छविको पतन भयो । हुएनसाङले नेपालमा बज्जि राज्य भएको उल्लेख गरेका छन् ।  

गुप्तकालीन बज्जि गणराज्यको चर्चा फाह्यानको यात्रा वृत्तान्तमा पनि पाइन्छ । बज्जिका बज्जि गणराज्यको भाषा हो । आज यस भाषाको आफ्नो कैथी लिपि प्रायः लुप्त हुँदै छ । यस कैथी लिपिको कुनै पनि किसिमको प्रकाशन र पुस्तक पाइएको छैन, लिपिका बारेमा कुरा मात्र चल्ने गरेको छ, हस्तलिखित पुस्तक केही प्राचीन मठमा अझ पनि उपलब्ध छ । भारतीय विद्वान् डा. व्रजनन्दन बर्माले पनि नेपालको दक्षिणी तराई भाग रौतहटमा बज्जिका भाषा बोलिन्छ भनेर उल्लेख गरेका छन् । 

कालचक्रको कुटिल गतिविधिका कारण बज्जिकाको लोकसाहित्य लिखित रूपमा उपलब्ध छैन । रचनाहरू खोज्दा नपाइने भने होइन । सन्त कवि हलधर दासको सुदामा चरित्रको मुद्रण भइसकेको छ तर शिव स्तोत्र र भागवत् भाषा आदि अप्रकाशित ग्रन्थमा उनको मातृभाषा बज्जिकाको सङ्केतसूत्र विद्यमान छ । यसको बृहत् खोजी गरिनुपर्दछ । ‘देसिल बयना सब जन मीट्ठा, तैसन जम्पओ अबह्टा (कीर्तिलता)’ विद्यापतिको प्रसिद्ध रचना हो । बज्जिका भाषाको यो दुर्भाग्य हो कि यसको प्राचीन साहित्य रचना उपलब्ध छैन । 

यस भाषामा कवि गयाधर दासले सन् १०४५ मा बज्जिकामा रचना गरेका थिए । यिनी वैशालीका थिए । यिनी जनजिब्रोमा मात्र सीमित भएर बसे । मुजफ्फरपुरका पदमौल निवासी श्री हलधर दासले सन् १५६५ मा सुदामा चरित्र खण्डकाव्य लेखेका थिए, जसको भाषा बज्जिका हो । मङ्गनीरामले धेरै भजन लेखे, जो लोकको जिब्रोमा झुन्डिएकै छ । 

यिनको कुनै सङ्ग्रह पाइएको छैन । यी सबै रचना बज्जिका भाषामा लेखिएका छन् । सन्तकवि कबीर दासले सन् १४५६ आफ्नो पन्थको प्रचारका लागि यस क्षेत्रको भाषा बज्जिकामा पनि रचना गरेका थिए । लोककवि घाघले कृषिसँग सम्बन्धित थुप्रै रचना गरेका थिए, जुन आज पनि लोकजीवनमा प्रयोग गरिँदै छ । बौद्धग्रन्थ थेरी गाथामा वैशालीकी नगरबधू अम्वपालीले लेखेका थुप्रै रचना बज्जिका भाषामा पाइन्छन् । यी सबै बज्जिका भाषाका उत्कृष्ट कृतिमा पर्छन् । बज्जिका साहित्यका थुप्रै रचना पुस्तकका रूपमा प्रकाशित भएका छन् तर पनि ती थोरै हो । 

बज्जिका भाषाको लोकसंस्कृतिको सन्दर्भमा पनि चर्चा गरौँ । स्थानैपिच्छे संस्कृतिमा पनि परिवर्तन पाइन्छ, यो सत्य हो । लोकव्यवहार रीतिमा परिणत भएर परिपक्व बन्दछ, अनि एउटा प्रथा र परम्पराले जन्म लिने गर्दछ । जिज्ञासा मानवको एउटा ठूलो शक्ति हो । सामान्य रूपमा मानवविज्ञानलाई हामी मानव र उसको कामको अध्ययन भन्न सक्दछौँ । 

मानव समूहको शरीर–रचना तथा उनीहरूका संस्कृतिका समानता र विभिन्नताको अध्ययन नै मानवविज्ञानको उद्देश्य हो । इतिहास विशिष्ट घटनाको वर्णन गर्दछ, तिथिमितिको हिसाबले उनीहरूका कार्यकारण सम्बन्धहरूको विश्लेषण गर्दछ । समाजको परिधिमा मानवका ती व्यवहारहरू, जुन आवश्यकता पूर्तिका लागि कार्य, आर्जन र उपभोगसँग सम्बन्धित हुन्छ, अर्थशास्त्रको विषय क्षेत्रमा पर्छ ।  मानवविज्ञान सीमित समाजलाई आफ्नो अध्ययनको विषय बनाएर जीवनलाई त्यसको समग्रतामा हेर्ने प्रयत्न गर्दछ । उन्नाइसौँ शताब्दीभन्दा पहिले यो विषय सामान्यतः भूगोल अथवा इतिहासको एउटा भाग ठान्ने गरिएको थियो । प्राणी जगत्का अन्य सदस्यसँग मनुष्य जातिको अलग अलग समूहको वैज्ञानिक वर्गीकरणको प्रथम प्रयत्न यसै युगमा भयो । 

यस विषयको वैज्ञानिक अध्ययनले प्रजातीय गुणहरू भाषा एवं संस्कृतिस“ग सम्बन्ध नभएको मान्यतालाई स्वीकार्नेबित्तिकै मनुष्यको अध्ययन थुप्रै शाखा र उपशाखामा विभाजित हुन गयो । विशाल प्राणीवर्गको थुप्रै प्राणीमा मनुष्यको मात्र अध्ययनको दृष्टिकोण तथा उसको प्रणाली दुवै पूर्ण रूपले प्राकृतिक विज्ञानको अन्य अङ्गको प्रवृत्तिबाट प्रभावित थियो । अधिकांश प्रकृतिप्रेमी र संस्कृतिविद्ले एक मतमा नेपाल अद्भुत प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिएको ज्यादै आकर्षक देश भएको स्वीकार गरेका छन् । संसारकै नमुना प्रकृति र नमुना संस्कृति सम्पदाको जगेर्ना व्यापक मात्रामा गर्नु आवश्यक देखिन्छ । 

यथार्थ कुराको बोध नभएर केही व्यक्तिले आधारहीन र मनगढन्ते विचार व्यक्त गरेका भरमा प्रभावित भएर पहिचानका आधारमाथि लामो समयदेखि खेलबाड हु“दै आएको अवस्थामा आउ“दा दिनमा सचेत भएर यथार्थको खोजी र प्रामाणिक कुराको विश्लेषण हुनु जरुरी छ । हालको दिनमा जातीय र क्षेत्रीय पहिचानका कुरा उठेका छन् । सबैका पहिचानका आधार सुरक्षित हुनुपर्दछ । 

परम्परादेखि चल्दै आएका सबै चालचलन, व्यवहार, क्रियाकलाप, चाडबाड, विधि प्रविधि अन्धविश्वास मात्र हु“दैनन्, तिनको गहिरो अध्ययन भयो भने ओखतीमूलो, इन्जिनियरिङका विविध पक्ष, कृषि प्रविधि, वन संरक्षणका उपाय, जलाधारका स्रोतको दीर्घकालीन उपयोग, सांस्कृतिक सम्पदाको ज्ञान, सामाजिक मूल्यको चिनारीसमेतका थुप्रै पक्षमा आज गम्भीर वैचारिक मन्थन गर्नुपर्ने बेला आएको छ । लोकवार्ता भनेको लोकजीवनसित सम्बद्ध संस्कृति, भाषा, कला, विश्वास, चालचलन, साहित्य, रहनसहन, खानपान, साजसज्जा, चित्रकला, बाजागाजा, चाडबाडजस्ता विविध कुराको सोलोडोलो विज्ञान हो ।

बौद्धग्रन्थ ‘अंगुत्तर निकाय’ एवं जैनग्रन्थ ‘भगवती सूत्र’मा बज्जि सङ्घको उल्लेख प्रमुख गणराज्यका रूपमा गरिएको छ । बज्जिका अठार गणराज्यको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रका अनुसार बज्जि सङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८५ ई.पू.सम्म थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषीय र भौगोलिक विविधताले युक्त सुरम्य देश हो । बुद्धको समयमा बज्जि एउटा प्रसिद्ध महाजनपद थियो । यसअन्तर्गत आठ जनपदमा विदेहको राजधानी मिथिला एवं बज्जि सङ्घको राजधानी वैशाली थियो । पाणिनीले आफ्नो ग्रन्थ ‘अष्टाध्यायी’ (४.२.३) मा यसको स्मरण ‘मद्रवृज्ज्यो’का रूपमा गरेका छन् । बुद्धको जीवनकालमा नै जनक वंश पतनको साथमा बनेको बज्जि सङ्घमा विदेहलाई विशेष प्रतिष्ठा प्राप्त थियो । आजको कोसी पश्चिमको भू–भाग प्राचीन बज्जि विदेहको अवशिष्ट रूप हो । वैष्णव पुराणबाहेक रामायण तथा महाभारतमा वैशालीमा गणराज्यको स्थापनाभन्दा पहिलेको राजा विशालको वंशावली उपलब्ध छ । राजा विशालको वंशको तेत्तीसौँ राजा सुमतिले गङ्गाको उत्तरी किनारमा अवस्थित विशालपुरीमा विश्वामित्रको साथमा राम र लक्ष्मणको राजकीय सत्कार गरेका थिए । ‘वाल्मीकि रामायण’ (१.४५.९) अनुसार विशालपुरीको भूगोल निम्नअनुसार छ–


उत्तर तीरमासाद्य सम्पूज्यर्षि गणे तदा ।

गंगा कुले निविष्टास्ते विशालां ददृशः पुरीम् ।।


राजा सुमतिपछिको इतिहास एकदम चुप छ । तब पनि यति कुरो त थाहा हुन्छ नै, वैशालीको राजा सुमति अयोध्याको दशरथ र विदेहको शीरध्वज जनकका समकालीन थिए । लिच्छविहरूले वैशालीमा गणराज्य स्थापना गरेको तिथिमिति प्रायः अनिर्धारित छ । बज्जि सङ्घको प्रजातन्त्रको दीप ज्योति गौतम बुद्धको परिनिर्वाणको तीन वर्षपछि ४८४ इ.पू.मा निभ्यो । नेपाल बहुभाषी, बहुधर्म र बहुसंस्कृति भएको देश हो । नेपालका बज्जिका भाषीहरू हिन्दु धर्म मान्छन् र आफ्नै संस्कृति भएका विभिन्न जातका छन् । विभिन्न जात भए पनि आपसमा मिलेर बसेका छन् ।

कसैले पनि जातीय अहङ्कार देखाउँदैनन् । संस्कृति बचाउनमा सबैको योगदान छ । आफ्नो भाषा बज्जिका भएको र आफू प्राचीन प्रजातन्त्रप्रेमी पूर्वजका सन्तान भएको सत्य बिर्सिसकेका छन् । युगौँदेखि यस स्थितिमा बाँचिरहेका छन् । विभिन्न जात भए पनि आपसमा मिलेर बसेका छन् । सजीव भएर पनि कतिपय संस्कृति बिर्सिसकेका छन् । यस्तो हुनु भनेको सुखद पक्ष कदापि होइन । यसबाट आफ्नो पहिचान गुम्दछ । 

जो बा“चेको मात्र छ, विगत बिर्सिएको छ, उसको पहिचान गरिमामय हुन सक्तैन । बज्जि सङ्घले सङ्घीय शासन प्रणाली बलियो बनाएको थियो साथै बज्जि, उग्र, भोग, इक्ष्वाकु, ज्ञातृ, कौरव आदि कुललाई सूत्रबद्ध गरेको थियो । सो समयमा काशीले कोसलमा र मगधले अङ्गमा विजय प्राप्त गरेको थियो । यस्तो अवस्थामा राजतन्त्रले घेरिएको बज्जि सङ्घको वैशाली मगध साम्राज्यवादी लिप्साको सिकार बन्न पुग्यो ।  मगधले बज्जि सङ्घमा पहिले आक्रमण गरेका थिए तर बज्जिको दूरदर्शी सङ्घनायक चेटकले आफ्नी छोरी चेल्लनाको विवाह (५३० इ.पू.) विम्बसारसँग गरिदिए तर चेल्लनाको छोरा अजातशत्रु (४९५–४६३ इ.पू.)को दुर्धर्ष महìवाकाङ्क्षाका कारण वैशालीको पतन ४८४ इ.पू.मा भयो । यस पतनको साथसाथै बज्जि सङ्घको सांस्कृतिक गरिमा ह्रास हुन थाल्यो । बज्जि सङ्घको उत्तर जीवन–यात्राको समय धार्मिक क्रान्तिको समय हो । जैन तीर्थकर महावीर र गौतम बुद्धले आफ्नो धर्मोपदेश गरेको पालि–प्राकृत–अप्रभंश भई आधुनिक भारतीय आर्य भाषाको उद्भव भयो ।

बुद्ध शाक्यवंशी थिए र लिच्छवि क्षत्रीय थिए । वैशाली पतनपछि यो भूभाग मगधको अधीनमा भयो, उनीहरूले यहाँको सङ्घीय पद्धतिमा बाधा हालेनन् । कालान्तरमा बज्जि र लिच्छवि एकअर्काका पर्याय बन्न पुगे । नेपाल अद्भुत प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिएको ज्यादै आकर्षक देश हो । अधिकांश प्रकृतिप्रेमी र संस्कृतिविद्हरूले एक मतमा स्वीकार गरेको कुरा यो हो । आकारले सानो देखिए पनि सांस्कृतिक गुणवत्ताको दृष्टिले निकै ठूलो यस देशमा एक सयभन्दा अधिक जाति र त्यति नै सङ्ख्याका भाषाभाषी बसोबास गर्छन् । लामो समयपछि यहाँ विविध जातजाति र अनेकौँ भाषाभाषीको पारस्परिक सौहार्दपूर्ण बसाइ रहिआएको छ । चन्द्रगुप्त मौर्यपछि बज्जि सङ्घको स्वतन्त्रता समाप्त भइसकेको थियो ।

अशोकको अभिलेखमा, बज्जि–लिच्छविको उल्लेख छैन तर वैशालीको कोल्हुआ (कोल्लाग सन्निवेश)मा एउटा उत्तराभिमुखी अशोकस्तम्भ आज पनि उभिएकै छ तर ईसाको पहिलो शताब्दीको अन्तिम समयमा वैशाली र पाटलीपुत्रमा कुषाण सम्राट् कनिष्कको आधिपत्य भइसकेको थियो । कुषाणहरू यहाँ टिक्न भने सकेनन् । पुनः स्वतन्त्रता प्राप्त गरेपछि बज्जि–लिच्छविको प्रतिष्ठा बढ्यो ।

चन्द्रगुप्त प्रथमको छोरा समुद्रगुप्त (३३५–३७५ इ.) लिच्छवि हुनुमा गर्व गर्थे । फहियान (चौथो शताब्दी)ले आफ्नो यात्रा वृत्तान्तमा तद्युगीन वैशालीको भव्यताको वर्णन गरेका छन् । यहाँको पुराताìिवक उत्खननबाट ‘तीरभुक्ति’ र ‘वैशाली’ नामको सिक्का पाइएको छ । छैटौँं शताब्दीको अन्त्यसम्ममा वैशालीबाट लिच्छविको पतन भयो । हुएनसाङले नेपालमा बज्जि राज्य भएको उल्लेख गरेका छन् । कर्णाटकपछि बज्जिहरूको भूमि सिमरौनगढ मुस्लिम शासनको अधीनमा भयो । कर्णाटकले राज्य गरेको डोय भूमि यथार्थमा बज्जि देशकै अवशेष हो ।

बज्जिका तत्कालीन डोय राज्यको जनभाषा हो । प्राचीन बज्जि सङ्घको भाषा भएको हुँदा यसलाई वृजिका, वैशालीको भाषा, बज्जिका आदि नामबाट सम्बोधन गर्ने गरिन्छ । बज्जिका शब्दको निर्माण बज्जि शब्दमा ‘क’ र ‘आ’ प्रत्यय लाग्नाले भएको हो; जुन धेरै प्रासाङ्गिक एवं उपयुक्त छ । बज्जि सङ्घको सीमाझैँ नेपालमा बज्जिका भाषी क्षेत्रको सीमा निर्धारणमा पनि एकमत बनिसकेको छैन ।