• २३ असार २०८१, आइतबार

न्यून पारिश्रमिकले पशु खोप प्रभावित

blog

कविराज घिमिरे

हिले, पुस १४ गते । पशुपक्षीमा लाग्ने महामारीजन्य खोप लगाउन खोप लगाउनेका लागि कम पारिश्रमिक दिँदा प्रभावित भएको छ । एक खोपका लागि पाँच सय रुपियाँ पारिश्रमिक दिए पनि पहाडी क्षेत्रमा यो अपुग हुने भन्दै खोप लगाउनेको अभाव हुने भएको हो । 

एक खोप लगाउन एक दिनसम्म हिँड्नुपर्ने बाध्यता रहेकाले पहाडी र हिमाली क्षेत्रमा यो पारिश्रमिक अपुग हुने रमेश सिँजालीले गुनासो गर्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाले आयोजना गरेको राष्ट्रिय रोग निवारण कार्यक्रम अन्तर्गत पशुपक्षी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीले सो गुनासो गरेका हुन् । 

पशुपन्छीमा लाग्न सक्ने महामारी जन्य रोग रोकथामका लागि धनकुटामा पनि अभियान सञ्चालनका लागि कार्यक्रमको आयोजना गरिएको हो । सङ्घीय सरकारले खोप तथा बजेट उपलब्ध गराए अनुसार धनकुटामा अभियान सञ्चालन हुने भएको हो । खोप अभियानमा घरपालुवा पशुपन्छीलाई निःशुल्क खोप लगाइदिने गरिन्छ । 

धनकुटामा भेँडाबाख्रामा पीपीआरविरुद्ध, गाईभैँसीमा खोरेतविरुद्ध, कुखुरामा रानीखेत विरुद्ध र गाईबस्तुमा भ्यागुते र चर्चरेविरुद्ध र बङ्गुरमा स्वाइन फिभरविरुद्ध सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।