बाबुराम शर्मा
दोलखा, पुस १४ गते । कुनै दिन मिनी स्विट्जरल्यान्डका रूपमा चिनिएको जिरी सुनसान बन्न लागेपछि जनप्रतिनिधि जिरीलाई नयाँ स्वरूपमा ‘रिब्रान्डिङ’ गर्ने तयारीमा रहेका छन्। आन्तरिक पर्यटकलाई लक्षित गरेर जिरीलाई नयाँ ढाँचामा लैजान यो योजना अघि सारिएको जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले बताउनुभयो।
सगरमाथाको प्रवेशद्वार मानिने जिरी अहिले सोलुखुम्बुसम्मै सडकको सहज पहुँच र काठमाडौँ–लुक्ला हवाई यात्राको पनि सुविधा भएकाले यो बाटो पर्यटकहरूले प्रयोग नगरेपछि साख जोगाउन पनि नयाँ अभियान अपनाउनु परेको उहाँले स्पष्ट पार्नुभयो। नगरप्रमुख जिरेलले भन्नुभयो, हामी आन्तरिक पर्यटनमा जोड दिँदै छौँ। आन्तरिक पर्यटक बढाउनका लागि राम्रा होटल व्यवसायीलाई पनि तयार पार्दै छौँ। हाम्रो क्षेत्रमा आन्तरिक पर्यटक आकर्षित गर्ने काम पनि गरिरहेका छौँ। वडा नम्बर १ को खिम्तीखोला किनारमा ‘स्टोन (सिला) पार्क’ तयार भएको छ। गुरु रिम्पोछेको मूर्ति तयार हुँदै छ। यो तयार भएपछि बौद्ध धर्मावलम्बीहरू आउँछन् भन्ने विश्वास छ, उहाँले थप्नुभयो।
जिरी तालको डीपीआर तयार भएर बागमती प्रदेश सरकारले १५ करोड रुपियाँ बजेट पनि विनियोजन गरेको छ। चेर्दुङ एकीकृत विकास परियोजनाअन्तर्गत विभिन्न काम गरिरहेका छौँ। खावाबाट गुराँस पार्क हुँदै गुरु रिम्पोछेको मूर्तिसम्म साइकल तथा हाइकिङका लागि बाटो बनाउने काम भइरहेको छ।
यहाँको भूगोल सुन्दर छ। हामी ताल पनि बनाउँदै छौँ। त्यसैले अब जिरी इतिहासको बलमा आफूलाई रिब्रान्डिङ गर्छ, उहाँले भन्नुभयो। भूगर्भविद् टोनी हेगनले स्विट्जरल्यान्डको सहर जुरिचसँग जिरीलाई तुलना गरिदिएपछि यसको परिचय मिनी स्विट्जरल्यान्डका रूपमा भएको थियो। लामो समयसम्म जिरीमा स्विस परियोजनाले नै काम गरेको थियो। अहिले जिरीमा न पहिलेजस्तो विदेशी परियोजना छ, न विगतमा स्विस शैलीमा बनाइएका घरहरू नै बाँकी छन्। त्यसैले जिरीवासी भन्छन्, यो मृत सहर बनिसक्यो।
कुनै बेलाको गुल्जार जिरी बजार गएका २०/३० वर्षअघि जस्तो चहलपहल यतिखेर छैन। नगरप्रमुख जिरेलले भन्नुभयो, पहिले सगरमाथा क्षेत्रमा जाने एक मात्र बाटो थियो जिरी। अहिले धेरैतिर सडकको सहज पहुँच भएको छ। हवाई मार्ग पनि सहज भएको छ। कुनै समय सडक पुगेको एक मात्र यस क्षेत्रको अन्तिम बिन्दु थियो, जिरी। अब सडक जिरीभन्दा निकै अगाडि गइसक्यो। त्यसकारण स्वाभाविक रूपमा मानिसको चहलपहल कम छ।
जिरी पुग्ने बाटो दुई–तीन वर्षअगाडिसम्म अत्यन्तै खराब थियो। यस कारण आन्तरिक पर्यटकको सङ्ख्या पनि घट्यो। विदेशी पर्यटक कम हुँदै गएपछि आन्तरिक पर्यटकलाई आकर्षित गर्न हामीले बनाउनुपर्ने पूर्वाधार पनि समयमा बनाउन सकेनौँ।
“हामी यसलाई अर्गानिक जिरीका रूपमा विकास गर्न खोजिरहेका छौँ। हामी सहरका मान्छेलाई अर्गानिक खाना खान पाइने ठाउँका साथै मनमोहक दृश्यावलोकन गर्न पाइने ठाउँका रूपमा जिरीलाई विकास गर्दै छौँ। हामीले हाम्रो क्षमताले भ्याएसम्म गरिरहेका छौँ,” नगरप्रमुख जिरेलले भन्नुभयो।
जिरेल जातिको बसोबास भएको जिरी, जिरेल जातिमाथि अध्ययन गर्नेहरूका लागि विश्वविद्यालय नै हो। यहाँको जडीबुटी र प्राकृतिक सम्पदाको सदुपयोग गरेर नयाँ पहिचान बनाउने योजना रहेको उहाँले सुनाउनुभयो।
२०१४ सालमा स्विसले आफ्नै प्राविधिक र डाक्टर ल्याएर स्थापना गरेको जिरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरेपछि दोलखा जिल्ला अस्पताल भएको छ। सङ्घीयता लागू भएसँगै जिल्ला अस्पतालको पहिलेको अवधारणा नै हरायो।
“जिरी अस्पताल यतिखेर हाम्रो मातहतमा रहेको छ तर यहाँ चिकित्सक, मेडिकल अफिसर, प्यारा मेडिक्स, नर्स राख्न सकेका छैनौँ,” उहाँले भन्नुभयो, स्थानीय सरकारले हेर्ने भनेपछि जनशक्ति पनि आउन नमान्ने रहेछन्। हिजो सबै प्रकारको सेवा–सुविधा पाइरहेका जनता अहिले केही नपाएपछि स्वाभाविक रूपमा गुनासो गर्छन्। स्विसहरूले २०१८ सालमा स्थापना गरेको चिज उद्योग चलिरहेको छ। जिरी प्राविधिक शिक्षालय पनि चलिरहेको छ। भूकम्पले भत्किएपछि नयाँ संरचना बने पनि जिरी अस्पताल स्विसले नै स्थापना गरेका हुन्। अहिलेको गाई आनुवंशिक स्रोत विकास केन्द्र पनि स्विसहरूले नै चलाएका हुन्।
स्विसहरूले सुरु गरेर असफल भएको योजना जिरी विमानस्थल मात्रै हो। नागरिक उड्डयन मन्त्रालयको अध्ययनले नै जिरीमा विमानस्थल बनाउन सम्भव छैन भनेर देखाएपछि अलपत्र अवस्थामा रहेको छ।