• २८ फागुन २०८१, बुधबार

जेभियरलाई बास्केटबल उपाधि

blog

विजेता टिमका खेलाडी ।

काठमाडौँ, फागुन २८ गते । हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जेभियर इन्टरनेसनल कलेजले जितेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा जेभियरले सिसिआरसी कलेजलाई ७४–५६ स्कोरले हरायो । 

जेभियरलाई उपाधि दिलाउन लक्की महर्जनले सर्वाधिक २३ अङ्क बनाउनुभयो । उहाँ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै तीन हजार रुपियाँ पाउनुभयो । उपाधिसँगै जेभियरले २५ हजार तथा उपविजेता सिसिआरसीले १३ हजार रुपियाँ पुरस्कार पायो । 

त्यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा ग्रिनफिल्ड इन्टरनेसनल कलेजलाई जेभियरले ७२–५३ को स्कोरमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। सिसिआरसीले दोस्रो सेमिफाइनलमा गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ६०–४५ को स्कोरमा पाखा लगाएको थियो । 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौँ उपत्यकाका १६ वटा कलेजहरूको सहभागिता थियो। विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, हिसानका अध्यक्ष रमेशकुमार सिलवाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।