• २३ असार २०८१, आइतबार

सभापतिको राजीनामा मागिँदैन : डा. कोइराला

blog

गोकुल पराजुली

विराटनगर, पुस १३ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा नमागिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार अपराह्न पत्रकारसँग कुरा गर्नुहुँदै नेता कोइरालाले पार्टीभित्र आवश्यक छलफल गर्ने र पदाधिकारीको सहयोग लिन सकेको भए गठबन्धन जोगाउने सम्भावना थियो उहाँले भन्नुभयो ।

‘कारबाही गर्ने कुरा कसले भनेको छ ? केमा कसरी कारबाही गर्ने ? मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ, तर कारबाही भन्ने कुरा हुँदैन’ कोइरालाले भन्नुभयो । पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र उत्पन्न गरेको असन्तुष्टि सम्बोधन गर्न तत्कालै नीति अधिवेशन गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो । 

पार्टीभित्र कतिपय नेताहरूले विशेष अधिवेशन बोलाउन माग गरिरहेको बेला नेता कोइरालाले भन्नुभयो, “विशेष अधिवेशन झन्झटिलो हुने भएकाले विधि अधिवेशन बोलाउनु उपयुक्त हुन्छ ।”

नीति अधिवेशन हुन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष अधिवेशनबारे कांग्रेसको विधानमा आफ्नै प्रक्रिया छ । त्यो प्रक्रिया पार गर्न गाह्रो छ । बोलेर हुने कुरा होइन, नीति अधिवेशनमा हामी जोड दिन्छौँ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्दा एमालेको सहयोगमा प्रधानमन्त्री बन्नु कमजोरी भएको उहाँले बताउनुभयो । पार्टीको नेतृत्वले पनि सही निर्णय लिन नसक्दा कमजोरी भएको उहाँको भनाइ छ । ‘प्रधानमन्त्री या राष्ट्रपति के चाहिन्छ भन्ने कुरामा सभापतिलगायत वार्तामा हुनेहरूले फाइनल गर्नुपर्थ्यो, उहाँहरू चुक्नु भएको छ’ कोइरालाले भन्नुभयो, ‘राष्ट्रपति लिएर सहमति गरेको भए पनि हुन्थ्यो ।’ कांग्रेसले माओवादी र एमालेको चाल बुझ्न नसक्दा दुर्घटना भएको उहाँले बताउनुभयो ।