• १२ मंसिर २०८१, बुधबार

शैक्षिक कार्यक्रम अन्तर्राष्ट्रियकरण गर्दै केयू

blog

बनेपा समाचारदाता 

बनेपा, पुस १३ गते  । काठमाडौँ  विश्वविद्यालय (केयू)ले आफूले सञ्चालन गर्दै आएको योगिक साइन्स, हेल्थ मेनेजमेन्ट र हस्पिटालिटी मेनेजमेन्टलगायतका विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान सुरु गरेको छ। 

विश्वविद्यालयले भारतको आन्ध्र प्रदेश तिरुपतिस्थित विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसँग आफ्ना कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सम्भाव्यता (आशय) पत्रमा हस्ताक्षर गरेको छ।

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा केही दिनअघि भारतको आन्ध्र प्रदेशको तिरुपतिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो। काठमाडौँ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका प्रमुख तथा विश्वविद्यालयका प्रवक्ता डा. उद्धव प्याकुरेलले विश्वविद्यालयका उच्चशिक्षाका कार्यक्रमहरू भारतलगायतका देशमा विस्तार गर्ने क्रममा केयू र तिरुपतिमा रहेको विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसँग सम्झौता भएको बताउनुभयो। 

उहाँले उक्त इन्स्टिच्युटमा केयूले योगिक साइन्स, हेल्थ मेनेजमेन्ट, हस्पिटालिटी मेनेजमेन्टलगायतका विषय सञ्चालन गर्ने तयारी गरेको भन्दै आगामी शैक्षिक वर्षदेखि भारतका केही शैक्षिक संस्थामा विश्वविद्यालयका केही कार्यक्रम सञ्चालन हुने बताउनुभयो। 

यसअघि भारतको मद्रासस्थित आईआईटी र केयूले संयुक्त डिग्री दिने गरी सुरु गरेको स्नातकोत्तरस्तरको एमटेक इन इनर्जी सिस्टम कार्यक्रमका विद्यार्थी अध्यापन, इन्टर्नसिपलगायतका सुविधा उपलब्ध गराउनेबारेको डिफिनिटिभ समझदारी भएको छ। 

केयू र आईआईटीका बीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष भएको नेपाल भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको रोहबरमा सम्झौता भएको थियो। 

तमिलनाडु, आन्ध्र प्रदेश तथा तेलङ्गनास्थित उच्चशिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूको भ्रमणमा रहेको केयूको टिमले चेन्नईस्थित मद्रास डाइवेटिक रिसर्च सेन्टरसँग डाइवेटोलोटीमा संयुक्त विधावारिधि कार्यक्रम सञ्चालनको सम्भावनाबारेमा र आईआईटी हैदराबादमा कार्यक्रम सञ्चालनका बारेमा छलफल भएको विश्वविद्यालयका प्रवक्ता डा. प्याकुरेलले बताउनुभयो। 

यसैबीच काठमाडौँ विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमलाई देशका विभिन्न जिल्लामा समेत विस्तारको योजना अघि बढाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले १२ कक्षा पढेका विद्यार्थीलाई विश्वविद्यालयको बारेमा जानकारी नभएकाले विश्वविद्यालयले कार्यक्रम विस्तारका लागि विभिन्न जिल्लामा जान सुरु गरेको बताउनुभयो। उहाँले विभिन्न जिल्लाका शैक्षिक संस्थाहरूसँग समन्वय गरेर विभिन्न विषयको अध्यापन सुरु गरिएको बताउनुभयो।