• १२ मंसिर २०८१, बुधबार

विकास निर्माणले सहरी क्षेत्रका वनस्पति नासिँदै

blog

शालिग्राम नेपाल 

चितवन, पुस १३ गते । भरतपुर महानगरपालिकामा भौतिक संरचना निर्माणको क्रममा वनस्पतिको विनाश भएकोप्रति चिन्ता व्यक्त गरिएको छ। चितवनको नारायणगढदेखि गोन्द्राङसम्म निर्माणाधीन छ लेन सडकको दायाँबायाँ रहेका रुख काटिएको भन्दै वातावरणविज्ञदेखि सर्वसाधारणले यसप्रति चिन्ता व्यक्त गरेका हुन्। विकाससँगै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ। 

वन विभागका पूर्व महानिर्देशक गोकुलराज पाण्डेले भन्नुभयो, “भौतिक संरचना निर्माण नै विकासको पहिलो आधार मान्ने चलन नेपालमा भएकाले वनस्पतिको संरक्षणमा ध्यान पुगेको छैन।” 

उहाँले भन्नुभयो, “विकासका नाउँमा वातावरण संरक्षणमा गरेका योजनाको अनुसरण गरिँदैन। हामीलाई विकास आवश्यक छ तर सहर बजारमा संरक्षण गरेर रोपिएका रुख नकाटी विकास गर्न सक्नु पर्दछ।”

चितवनको सन्दर्भमा मात्र नभएर नेपालमा हुने यस्ता विकासका कार्यले वनस्पतिमाथि आक्रमण भएको उहाँको भनाइ छ। प्रकृतिले दिएको उपहारलाई हामीले आफैँ आउँछ भन्दै विनाश गर्दा पछि यसको असर पछिल्ला पुस्तासम्म पर्ने गर्छ। उहाँले भन्नुभयो, “विकसित देशमा तथा बोटबिरुवा कम भएका मुलुकले एउटा रुख जोगाउन लाखौँ खर्च गरेका हुन्छन्। हामीले पनि त्यस्तै योजना ल्याउनु पर्दछ।”

सडक विस्तारले अहिले नारायणगढ बजार र भरतपुर क्षेत्रको सयभन्दा धेरै घरको अगाडिका भाग भत्केको छ। सडकको सीमाभित्र निर्माण गरिएका त्यस्ता संरचना भत्काइएका छन्। सडक विस्तारका क्रममा नारायणगढ बजारमा सडकको दायाँबायाँ रोपिएका म्याङ्ग्वेस्टिक, समी, आम्रपालीलगायतका रुख काटिएका छन्। २०५७ सालमा तत्कालीन भरतपुर नगरपालिकाले हरियाली सहर निर्माण गर्ने भन्दै लगाइएको रुख अहिले सडक विस्तारका क्रममा काटिएका छन्। 

गर्मीमा ती रुखको छहारीमा बजार आएकाहरू, बटुवाहरू बस्ने गरेका थिए। भरतपुर महानगरपालिकाले पनि रुखको संरक्षणमा बजेट खर्च गर्दै आएको थियो। नारायणगढ बजारको मात्र नभएर भरतपुर ओरालो, चौबीसकोठी हुँदै गोन्द्राङसम्मको वरपीपलको रुख काटिएका छन्। राजनीतिक परिवर्तनका लागि भएको आन्दोलन, अन्य कुनै सभा, जमघट तथा अन्य कामका लागि भरतपुरको चौबीसकोठीमा रहेको वरपीपलको चौतारो सबैको साझा स्थान बन्दै गरेको  थियो। 

हाल सडक विस्तारकै क्रममा ती रुख बिरुवा र स्थान मासिएका छन्। वृद्धका लागि चौतारी, परिवर्तनकामीहरूका लागि भेला गर्ने स्थान, बटुवाका लागि विश्रामस्थल मासिनु कुनै हिसाबले उचित नभएको सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामप्रकाश अधिकारी बताउनुहुन्छ। 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले विकास निर्माणको प्रत्यक्ष असर वन र वनस्पतिमा परेको बताउनुभयो। विकास निर्माण गर्दा वनजङ्गलका साथै वन्यजन्तुको वासस्थानको असरबारे अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो। 

सडकको विस्तार क्षेत्रमा रहेका सबै संरचना हटाएर निर्माण गरिनुपर्ने भएकाले रुख काटिएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ। सडकको बीच भागमा बिरुवा रोप्नका लागि ठाउँ छुट्याएकाले पछि त्यहाँ रुख रोपिने जनाएको छ। सडकको दायाँबायाँ रहेका वरपीपलका रुख काटिँदा गर्मीमा शीतलमा बस्न, फुर्सदको समयमा ज्येष्ठ नागरिक छलफल र सतसँग गर्न आउने गरेका थिए। सो स्थान पनि मासिएको भन्दै भरतपुर १० का ज्येष्ठ नागरिक डिल्लीराम पौडेलले चिन्ता व्यक्त गर्नुभयो।