• १३ असोज २०८१, आइतबार

पुस २५ गते दिउँसो १ बजेका लागि संसद् बैठक आह्वान

blog

सङ्घीय संसद्‍ भवन । फाइल तस्बिर

काठमाडौं, पुस १२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि सङ्घीय संसद्‍को बैठक आह्वान गर्नुभएको छ। 

सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सो दिन संसद्‍ बैठक आह्वान भएको हो। मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि पहिलो पटक संसद्‍ बैठक आह्वान गरिएको हो। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमबार मन्त्रिपरिषद् गठन भएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले संसद्‍ बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

 राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीबाट संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् बैठक आह्वान भएको हो ।  


संघीय संसद्‍ सचिवालयका महासचिव डा. भरतराज गौतमले पुस २५ गते दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको आह्वान गर्नुभएको बैठकमा उपस्थित हुन सबै माननीय सदस्यलाई अनुरोध गर्नुभएको छ ।