• १२ असोज २०८१, शनिबार

पाथीभरा लिफ्टिङ खानेपानीको परीक्षणको तयारी

blog

पाथीभरा लिफ्टिङ प्रविधिको खानेपानी योजना । तस्बिर– चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको लिफ्टिङ खानेपानी योजनाको परीक्षणको तयारी गरिएको छ । लिफ्टिङ प्रविधिमार्फत पाथीभरामा पु¥याइएको खानेपानी योजनाको यसै साता परीक्षण गर्ने तयारी गरिएको हो । 

यसअघि नै परीक्षण गर्ने योजना बनाए पनि पम्पिङ प्रणाली सञ्चालनका लागि थ्री–फेज विद्युत् लाइन व्यवस्थामा केही ढिलो भएकाले खानेपानी योजना परीक्षणमा पनि ढिलाइ भएको जनाइएको छ । थ्री–फेज विद्युत् लाइन व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र ताप्लेजुङमार्फत प्रक्रिया प्रारम्भ भइसकेकाले यही साता परीक्षण गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार विद्युत व्यवस्थाबाहेक योजनाको सबै कार्य सम्पन्न भइसकेको छ । अब विद्युत् व्यवस्था पनि भएकाले लिफ्टिङ प्रविधिको पम्पिङ प्रणालीमार्फत् पाथीभरामा पानी पु¥याउने योजनाको परीक्षण हुने भएको काफ्लेले बताउनुभयो । उहाँकाअनुसार क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको बलुडाँडाका लागि थ्री–फेज स्मार्ट मिटर ५० केभीएको र फेदी बजारका लागि २५, यहि क्षेत्रको दोबाटोका लागि २५ र नयाँपाटीका लागि २५ केभीएको उपकरण उपलब्ध गराई दिन प्राधिकरणलाई पत्राचार गरिएको छ । उक्त उपकरण उपलब्ध भएर जडान हुन समय नलाग्ने भएकाले यसै साता पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पु¥याउने योजनाको परीक्षण गर्ने तयारी गरिएको जानकारी दिनुभयो । 

आयोजना निर्माण कम्पनी प्रेरा÷विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाका अनुसार काफ्लेपाटीमा मुख्य (इन्टेक) ट्याङ्की निर्माण गरिएको छ । यस्तै काफ्लेपाटी, बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटी र पाथीभरा धाम परिसरमासमेत छ वटा ट्याङ्की निर्माण भएको थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण छ । 

लिफ्टिङ प्रविधिको खानेपानी योजना कुल आठ करोड २२ लाख १६ हजार ३६० रुपियाँ लागतमा निर्माण भएको सहलगानीको आयोजना हो । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत र पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारीमा पाथीभरा लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो । जसअनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको पाँच करोड ७५ लाख ८१ हजार ४५२ रुपियाँ र पाथीभरा क्षेत्र विकास समितिको दुई करोड ४६ लाख ३४ हजार ९०८ रुपियाँ गरी कुल आठ करोड २२ लाख १६ हजार ३६० रुपियाँ लगानी भएको छ ।