• १९ असोज २०८१, शनिबार

संसदीय दलको नेता चयन

राप्रपामा थापा, बुधबार कांग्रेसको निर्वाचन

blog

मकवानपुर समाचारदाता  

हेटौँडा, पुस १२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन हुनुभएको छ । काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ (ख) बाट प्रदेश सभा सदस्य थापा काठमाडौँमा सोमबार भएको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । 

राप्रपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले संसदीय दलको प्रमुख सचेतक, सचेतक, सचिवलगायत चयन गर्न बाँकी रहेको जानकारी दिनुभयो । बागमती प्रदेश सभामा राप्रपाको प्रत्यक्ष प्रणालीबाट निर्वाचित सातसहित १३ जना प्रदेश सभा सदस्य रहेका छन् ।

बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन यही बुधबार हेटौँडामा गर्ने निर्णयसहित निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको छ । कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले संसदीय दलको नेता चयनका लागि मङ्गलबारबाट निर्वाचन प्रक्रिया सुरु 

हुने जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार मङ्गलबार मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमाथि दाबी विरोध र दाबी विरोधमाथि जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । 

बुधबार बिहान संसदीय दलको नेताका लागि दरखास्त दिने, उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारको दरखास्तमाथि दाबी विरोध, दाबी विरोधमाथि जाँचबुझ र उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको कांग्रेस प्रदेश समितिका प्रवक्ता रुवालीले बताउनुभयो । 

यस्तै उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ । संसदीय दलको नेताको निर्वाचनका लागि मतदान बुधबार दिउँसो २ बजेबाट ३ बजेसम्म रहेको र मतदानपछि मतगणना गरी मतपरिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । 

कांग्रेसमा संसदीय दलको नेतामा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको दाबी रहेको छ । प्रदेश सभामा कांग्रेसको ३७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यस्तै नेकपा (एमाले)को प्रदेश संसदीय दलको नेताको निर्वाचन यही बिहीबार हेटौँडामा हुने भएको छ । एमाले प्रदेश सभा सदस्य भारती पाठकले प्रदेश सभा सदस्यहरूको बिहीबार हुने शपथ अगावै बिहान संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको बताउँदै संसदीय दलको नेता सहमतिमा सर्वसम्मत चयन गर्ने तयारी रहेको बताउनुभयो । एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया र केशवप्रसाद पोखरेलको नाम चर्चामा रहेको छ । प्रदेश सभाको दोस्रो ठूलो दल एमालेको यस प्रदेशमा २७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले पार्टीको प्रदेश संसदीय दलको नेता प्रदेश सभाको सदस्यहरूको शपथपछि मात्र गर्ने तयारी रहेको जानकारी दिनुभयो । माओवादी केन्द्रको यस प्रदेशमा २१ जना प्रदेश सभा सदस्य छन् । 

माओवादी केन्द्रमा संसदीय दलको नेतामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल, माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, सिन्धुलीबाट माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्वमन्त्री युवराज दुलालको दाबी रहेको छ ।

प्रदेश सभामा सात जना प्रदेश सभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी)को नेताको निर्वाचन मङ्गलबार गर्ने तयारी गरिएको एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । एकीकृत समाजवादीको संसदीय दलको नेतामा खनाल नै सर्वसम्मत चयन हुने सम्भावना रहेको छ ।

यसैगरी प्रदेश सभामा तीन जना प्रदेश सभा सदस्य रहेको नेपाल मजदुर किसान पार्टीको संसदीय दलको नेताको निर्वाचन प्रदेश सभा सदस्यको शपथपछि मात्र हुने भएको छ । नेपाल मजदुर किसान पार्टीका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले पार्टी केन्द्रीय समितिको बैठक चलिरहेको बताउँदै संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेश सरकारमा सहभागी हुँदैनौँ । जनमतअनुसार प्रदेश सभामा पार्टीले प्रभावकारी रूपमा विपक्षी दलको भूमिका निर्वाह गर्नेछ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् ।”