• २१ असार २०८१, शुक्रबार

खाद्यान्न आयात उनन्चालीस प्रतिशतले घट्यो

blog

काठमाडौँ, पुस १२ गते । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा (साउन–मङ्सिर)को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घटेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख सात हजार रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, चामल, जौ, कोदो) आयात भएको हो । 

गत वर्ष सो अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । भारतले धान र गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण आयात कमी आएको हो । सो अवधिमा सबैभन्दा धेरै चामल आयात भएको छ । नेपालमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिणाममा खाद्यान्न आयात हुने गरेको हो । 

विभागका अनुसार पाँच महिनाको अवधिमा सात अर्ब २९ करोड ४० लाख छ हजार रुपियाँ बराबरको ३० करोड ९७ लाख दुई हजार ८५९ केजी चामल आयात भएको छ । 

सो अवधिमा सात अर्ब २५ करोड ३० लाख ४१ हजार रुपियाँ बराबरको मकै आयात भएको छ । यस्तै ६५ करोड ७३ लाख दुई हजार रुपियाँ बराबरको गहुँ आयात भएको छ । गत वैशाखदेखि भारतले गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण न्यून परिणाममा आयात भएको छ । 

यस्तै सो अवधिमा ५९ करोड नौ लाख ५९ हजार रुपियाँ बराबरको धान आयात भएको विभागको तथ्याङ्क छ । पाँच महिनामा ३९ करोड ४१ लाख ६१ हजार रुपियाँ बराबरको जौ आयात भएको छ । यस्तै एक करोड १५ लाख रुपियाँको कोदो, ४२ लाख रुपियाँ बराबरको चिनु र १७ हजार रुपियाँ बराबरको जुनेलो आयात भएको विभागको तथ्याङ्क छ । 

स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना रहेको मकै स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा आयात हुने गरेको छ । विशेष गरी गाईबस्तु र कुखुराको दाना बनाउने काममा प्रयोग हुने मकै नेपालमा अर्जेन्टिना, चीन, भारत, क्यानडा, ब्राजिल, इन्डोनेसियालगायतका देशबाट आयात हुने गरेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले गाईबस्तुको दाना उत्पादनका लागि विदेशबाट मकै ल्याउँदै आएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा साढे लाख हेक्टर क्षेत्रफलमा २९ लाख ९७ हजार ७३३ मेट्रिक टन मकै उत्पादन भएको थियो । 

पाँच महिनामा सबैभन्दा धेरै मकै भारतबाट छ अर्ब ७६ करोड २७ लाख रुपियाँ बराबरको १६ करोड ८४ लाख केजी मकै आयात भएको छ । यस्तै दक्षिण अफ्रिकाबाट नौ करोड १३ लाख रुपियाँ, अमेरिकाबाट ५८ लाख रुपियाँ, मलेसियाबाट ३३ लाख रुपियाँ र अर्जेन्टिनाबाट २० लाख रुपियाँ बराबरको मकै आयात भएको विभागको तथ्याङ्क छ । 

आयातमा लगाइएको प्रतिबन्धका कारण चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै खाद्यान्न आयातमा कमी हुँदै आएको छ । छिमेकी मुलुक भारतलगायतका अन्य विभिन्न देशबाट खाद्यान्न आयात हुने गर्छ ।