• २७ वैशाख २०८१, बिहिबार

अर्थतन्त्र सुरक्षित ठाउँमा फर्काउने प्रतिबद्धता

blog

काठमाडौँ, पुस १२ गते । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले समस्याको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन उच्च प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “अर्थतन्त्र यतिबेला सङ्कटको डिलमा छ, यसलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित रूपले अगाडि बढाउन हामीले धेरै मेहनत गर्नुपर्नेछ । दुनियाँका अनुभव र हाम्रा विगतका अनुभवबाट राम्रो शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

अर्थ जगत्का सबै क्षेत्र, विज्ञ, विशेषज्ञको समेत रायसुझाव लिएर अर्थतन्त्रका अहिलेका चुनौती के के हुन्, चुनौतीको कारण के हो, यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हो र समाधानका लागि चाल्नुपर्ने कदमका लागि सबैसँग सघन ढङ्गले संवाद गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने आत्मविश्वासका साथ अर्थतन्त्रको जिम्मेवारीमा आएको उहाँले बताउनुभयो ।

“बिग्रँदो अर्थतन्त्रबाट चिन्तित भएको समग्र नेपाली समाज र अर्थ जगत्लाई विश्वस्त तुल्याउन चाहन्छु । सबैसँग जीवन्त संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नेतर्फ कार्यसम्पादन गर्नेछु,” उहाँले भन्नुभयो ।

अर्थतन्त्रमा देखिएका चुनौती काबुबाहिर नभएको भन्दै उहाँले यिनलाई समाधान गर्न सकिने बताउनुभयो । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने कुरामा विश्वस्त हुँदै अर्थ मन्त्रालयका सबै सकारात्मक प्रयासमा सहयोग गर्नका लागि रचनात्मक ढङ्गले सल्लाह सुझाव दिनका लागि पनि उहाँले सबैसँग आग्रह गर्नुभयो ।

मितव्ययितामा जोड दिने र चालू खर्चको दायरालाई कसरी कम गर्न सकिन्छ, के कस्ता उपाय हुन्छन्, त्यस विषयमा आफ्नो ध्यान जाने उहाँको भनाइ थियो । पुँजीगत खर्च वृद्धि, स्रोत परिचालन, खर्च व्यवस्थापनलगायतमा सम्बन्धित पक्षको रायसुझावबाट अगाडि बढ्ने मन्त्री पौडेलले बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र अन्तर्गतका सबै निकायमा अनलाइन प्रणाली कार्यान्वयन गर्ने पहिलो निर्णय गर्नुभयो । अर्थ मन्त्रालयको कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।

अर्थ मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने उहाँले बताउनभयो ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री पौडेल रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । २०१६ सालमा जन्मिनुभएका पौडेल साढे चार दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । यसअघि उहाँले २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ गतेसम्म अर्थमन्त्री तथा २०७८ जेठ १ देखि असार २९ गतेसम्म उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

यसअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र गम्भीर मोडमा रहे पनि बिस्तारै सम्हालिँदै गएको बताउनुभयो । उहाँले लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल हुन कठिन रहे पनि ६ प्रतिशतभन्दा माथि रहने दाबी गर्नुभयो । उहाँले मुद्रास्फीति घट्दो क्रममा रहेको र आयात प्रतिबन्धले सकारात्मक नतिजा देखाएको बताउनुभयो ।