• १९ असोज २०८१, शनिबार

सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन : डा. कोइराला

blog

डा. शेखर कोइराला । फाइल तस्बिर

काठमाडौं, पुस ११ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि पार्टीको शक्ति नगुमेको प्रतिक्रिया दिनुभएको छ ।

देशको पछिल्लो परिवर्तित राजनीतिप्रतिको दृष्टिकोणबारे सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई एवम् शुभकामना दिनुभएको छ । 

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल संसद्को तेस्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाइ प्रधानमन्त्रीमा नियुक्त भएको उल्लेख गर्नुहुँदै नयाँ सरकारमा देखिएको यसखाले दृश्य अपेक्षित नभएको उल्लेख गरिएको छ । 

उहाँले यस खाले वातावरण निर्माण हुनुमा कांग्रेसभित्र गम्भीर समीक्षा हुने र कांग्रेसको राष्ट्रिय राजनीतिमा नयाँ कोर्समा प्रवेश गरेको बताउनुभयो ।

नयाँ र अप्ठ्यारो परिस्थिति सिर्जना भए पनि निराश नभई थप सशक्तीकरणको अभियानमा जुट्न पनि उहाँले पार्टी पङ्क्तिमा आह्वान गर्नुभएको छ ।