• २१ असार २०८१, शुक्रबार

सडक पहुँचले घट्यो महँगी

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस ११ गते  । दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका नयाँ बजार स्थापना भएका स्थानमा महँगी ४० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ । ती नयाँ बजार कर्णाली कोरिडोरसँग जोडिएका कारण यातायात नियमित रूपमा सञ्चालनमा आउन थालेपछि महँगी घटेको हो ।

ताँजाकोट गाउँपालिकाको पैमा क्षेत्रको नयाँ बजारका स्थानीय कर्णबहादुर थापाले सडक यातायात जोडिँदा सवारीसाधनबाट ढुवानी हुन थालेपछि सामानको मूल्य सस्तिएको बताउनुभयो । उहाँले सडक नजोडिँदासम्म प्रतिकिलोग्राम चिनीको मूल्य २५० रुपियाँ तिरेको बताउँदै अहिले प्रतिकिलो १५० रुपियाँमा पाउन थालेको बताउनुभयो । दैनिक उपभोग्य अन्य सामग्रीमा पनि यो लागू भएको उहाँले जानकारी दिनुभयो । 

चङ्खेली गाउँपालिका र सर्केगार्ड गाउँपालिकाको सिमाना सलीसल्लाका व्यापारी कुबेर शाहीले सामानको मूल्य समग्रमा ४३ प्रतिशतसम्म सस्तिएको बताउनुभयो । सामानको मूल्य दूरीअनुसार सस्तिएको देखिन्छ । ताँजाकोट गाउँपालिकाको कवाडी, पैमा, अदानचुली गाउँपालिकाको बालुकुना, सलीसल्ला, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ र सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा दूरीअनुसार पाँचदेखि दस रुपियाँ मूल्य फरक रहेको उहाँले बताउनुभयो । 

यी स्थानमा सामान बिक्रीका लागि खुद्रादेखि डिलरसम्म स्थापना भएका छन् । 

सस्तिएको सामानमा दैनिक उपभोग्य सामग्रीदेखि निकास निर्माणका सामान, लत्ताकपडा र फलफूल रहेका छन् । पैदल मार्गबाट आउने सामान सिमकोट र खार्पुनाथ गाउँपालिकामा समेत सस्तो पर्ने गर्छ ।

सलीसल्लाका स्थानीय गोविन्द शाहीले सडक सञ्जाल जोडिएका कारण उल्लेख्य रूपमा सामानको मूल्य सस्तिएको बताउनुभयो । सडकको स्तरोन्नति र कालोपत्रे हुन सके मूल्य अझै घट्न सक्ने उहाँको भनाइ छ । 

नयाँ बजार भएका स्थानमा बाजुरा, कालीकोट, मुगु र जुम्लाबाट समेत व्यापारी आउने गरेका छन् ।