• १२ असोज २०८१, शनिबार

निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारका कारण अलपत्र

blog

बिन्दु थापा 

तानसेन, पुस १० गते । पाल्पाको तानसेन नगरपालिका ७ बाघखोरमा निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । दुई वर्षको अवधिमा सक्नुपर्ने गरी १० बर्सअघि निर्माणको काम सुरु भए पनि हाल सम्म २७ प्रतिशत मात्रै काम सम्पन्न  भएको  छ ।

३३ फिट उचाइ ,२६ मिटर लम्बाइ र १४ मिटर चौडाइको २ हजार टन बिउ कृषि उपज तथा फलफूल भण्डारण गर्ने क्षमताको बनाउने भनिएको चिस्यान केन्द्र पाल्पा,गुल्मी,अर्घाखाँची,स्याङ्जा जिल्लाका किसानलाई सेवा दिने लक्ष्य राखेको नगरपालिकाका प्रमुख सतोषलाल श्रेष्ठले बताउनुभयो । आयोजनाका लागि काठमाण्डौं स्थित भारतीय दूतावासले आर्थिक सहयोग गरेर सुरु भएको थियो । निर्माण कम्पनी बहादुर सिंह लामाको  हिमदुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेबीले २०६९ फागुन २३ गते ४ करोड ९९ लाख ९१ हजार ९ सय ५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का पाएका थिए । तर निर्माण कम्पनीको लापरबाहीका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको नगरपालिकाका प्राविधिक टिकाराम सोमाइले बताउनुभयो । उनीहरूले पटक पटक गरी पाँच पटक म्याद थप गरे पनि काम अगाडि नबढाउने गरेको सोमाइले बताउनुभयो । सोमाइका अनुसार अहिले पनि म्याद थपको लागि निवेदन परेको छ ।

अहिले सम्म कम्पनीले दुई करोड भुक्तानी पाएको नगरपालिकाले जनाएको छ । यसैबिच चभारतिय दूतावासले चिस्यान केन्द्रको निरीक्षण गरेको छ । दूतावासका दोस्रो सचिव प्रशात सानाले आयोजना पुनः सुरु गर्न आग्रह गरेको नगरपालिकाका सुचना अधिकारी भरत आचार्यले बताउनुभयो । समय सीमा भित्र आयोजना  सम्पन्न नगरेको भन्दै नगरपालिकाले निर्माण कम्पनीलाई ४८ लाख जरिवाना तिर्न पत्राचार गरेको छ । 

अहिले नगरपालिकाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिएर पनि आयोजना सम्पन्न गर्ने पक्षमा रहेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । कार्कीले यो आयोजना तानसेन नगरपालिकाको गौरवसँग जोडिएको र पाल्पा कृषिका लागि उर्वर भूमि भएका कारण नयाँ कम्पनीलाई ठेक्का दिएर पनि योजना पुरा गर्ने बताउनुभयो । प्रवक्ता कार्कीले पाल्पाका किसानले सुन्तला,अकबरे खुर्सानी र अदुवा खेती गरी हजारौँ रुपैयाँ आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।