दोलखा समाचारदाता
दोलखा, पुस ११ गते । दोलखाको कालिञ्चोक गाउँपालिका–५ स्थित लापिलाङ आयुर्वेद औषधालय वर्षौंदेखि कर्मचारी नहुँदा कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ।
२०७२ सालको भूकम्पले कार्यालय भवन भत्केपछि सेवा सञ्चालन हुन सकेको थिएन। २०७४ सालमा स्थानीय गाउँपालिकामा जनप्रतिनिधि आएपछि रेखदेख तथा सञ्चालन गर्ने अधिकार पालिकालाई सुम्पियो। पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार कविराज र वैद्यको पद रिक्त भएपछि पटक पटक सूचना निकाल्दा पनि निवेदन परेन।
पछिल्लो समयमा लोकसेवा आयोगबाट गीता पोखरेल वैद्यको पदमा आउनुभएको छ। उहाँले भन्नुभयो, “उहाँ पनि नियुक्ति लिनासाथ कर्णालीमा पनि नाम निस्केको भन्दै अन्तर्वार्ताका लागि उतै जानुभएको छ।” उहाँले भन्नुभयो, “कविराज भने लोकसेवा आयोगले पठाउँदै छ भन्ने खबर आएको छ। अब ढिलै भए पनि पदपूर्ति हुने भएको छ। स्थानीयवासीले सेवा पाउने वातावरण देखिएको छ।”
गत तीन महिनाअघि पालिकाले स्थानीय आशिष थापालाई कार्यालय सहयोगीमा नियुक्ति दिएको छ। कार्यालय सहयोगी थापाले भन्नुभयो, “हाकिमहरू नहुँदा मैले कार्यालय खोल्ने मात्र काम गरेको छु। औषधि छ तर मलाई जानकारी छैन। म अनभिज्ञ भएकाले औषधि खोज्नेहरू आए पनि फर्केर जाने गरेका छन्। कहिलेसम्म कार्यालय मात्र खोल्ने हो, अत्तोपत्तो छैन।”
औषधालयको आफ्नै घर भूकम्पले भत्केपछि मासिक १५ सय रुपियाँ तिर्ने गरी भाडामा घर लिइएको छ। भारतीय अनुदानमा भवन निर्माणाधीन अवस्थामा छ। मेलुङ गाउँपालिकाको भेड्पुमा रहेको आयुर्वेद औषधालय भने सञ्चालनमा रहेको छ। भूकम्पबाट भवन भत्केपछि गाउँपालिकाले भवन निर्माण गरिदिएको छ। कविराज, वैद्य र एक कार्यालय सहयोगीले औषधालय सञ्चालन गरिरहनुभएको वडाध्यक्ष कुसुम लामाले जानकारी दिनुभयो।