• २९ फागुन २०८१, बिहिबार

चिसापानीगढी संरक्षणपछि पर्यटक बढे

blog

रामेछाप समाचारदाता

रामेछाप, पुस ११ गते । रामेछाप जिल्लाको मन्थली नगरपालिका–८, चिसापानीस्थित चिसापानीगढी घुम्न आउने पर्यटक बढेका छन्। जिल्लाकै ऐतिहासिक, छुट्टै पहिचान र महत्व बोकेको यो गढीमा स्थानीय तथा प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका लागि विभिन्न संरचना निर्माण गरेका छन्। 

सिन्धुलीगढीको सहायक गढी चिसापानीगढीलाई नेपाल र अङ्ग्र्रेज युद्धका बेला नेपाली सेनाले प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयको विश्वास छ। चिसापानीगढी संरक्षण तथा विकास समाजका अध्यक्ष उत्तम श्रेष्ठले भन्नुभयो, “अहिले नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरूको संरक्षण गर्दै थप कुराको खोजी गरिरहेका छौँ।” 

वडा नं. ८ का निवर्तमान वडाध्यक्षसमेत रहनुभएका स्थानीय राजकुमार श्रेष्ठले गढीमा निर्माण भएका सिँढीसहितको पैदल मार्ग, मन्दिर तथा अन्य संरचनाको अवलोकन भ्रमण गर्नेहरू बढेको जानकारी दिँदै संरक्षण र आवश्यक प्रचारप्रसारको अभावले गढी अझै ओझेलमा परेको बताउनुभयो। 

मन्थली नगरपालिका–८, चिसापानी गाईखुराबाट भीसेनस्थान मन्दिरसम्म बागमती प्रदेश सरकारको ६० लाख र मन्थली नगरपालिकाको ५० 

लाख रुपियाँ बजेटमा दुई किलोमिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको मन्थली नगरपालिकाका प्राविधिक शाखाप्रमुख डिल्ली अधिकारीले बताउनुभयो। उहाँका अनुसार स्थानीय घडीछाप डाँडाबाट गढीसम्म प्रदेश सरकारको ४० लाख रुपियाँ बजेटबाट ४५० मिटरभन्दा बढी सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको छ।