• २८ फागुन २०८१, बुधबार

ट्राफिक व्यवस्थापनमा नयाँ व्यवस्था

blog

नारायणगढ समाचारदाता

भरतपुर, पुस ११ गते । भरतपुर महानगरभित्रका सडकमा ट्राफिक व्यवस्थापन गर्दै सहर क्षेत्रमा हर्न निषेध गरिएको छ। भरतपुर महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय चितवनको सहयोग लिएर ट्राफिक व्यवस्थापनको काम अगाडि बढाएको हो। 

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले ट्राफिक व्यवस्थापनको काम परिवर्तन हुने र दुई बसपार्क पूर्ण रूपमा सञ्चालनमा आउने गरी अगाडि बढाइएको जानकारी दिनुभयो। 

“सडकमा जथाभाबी हर्न बजाउन त पाइँदैन नै; अब सहरी क्षेत्रमा मुख्य रूपमा बाइपास, मेन रोड र केन्द्रीय बस टर्मिनलदेखि नारायणगढसम्मका क्षेत्रमा कुनै पनि सवारीसाधनले हर्न बजाउन पाउनेछैन,” उहाँले भन्नुभयो। 

साना तथा ठूला सवारीसाधनको समेत व्यवस्थापन गर्ने र दुई बसपार्क पूर्ण रूपमा सञ्चालन गर्ने गरी ट्राफिक व्यवस्थापनको काम अगाडि बढेको छ। बढ्दो सहरीकरणले सवारीसाधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा मात्रै पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ। “लामो दूरीका सवारीसाधन अब केन्द्रीय बस टर्मिनलबाट र छोटा दूरीका सवारीसाधन नारायणगढ बसपार्कबाट सञ्चालनमा ल्याइनेछ,” प्रमुख अधिकारीले भन्नुभयो। 

अहिले नारायणगढका चोकचोक र सडकमा जथाभाबी रूपमा सवारी पार्किङ गरिँदै आएको छ। अब यात्रुको ‘पिकअप एन्ड ड्रप’को काम पनि बसपार्कबाट मात्रै गरिने भएको छ। स्थानीय रुटमा चल्ने भाडाका सवारीसाधनलाई भने यात्रु ‘पिकअप एन्ड ड्रप’का लागि निश्चित स्थान तोकिएको छ। 

नयाँ व्यवस्थाअनुसार पूर्वबाट काठमाडौँ, पोखरा जाने यात्रुवाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका सवारीसाधनका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ। पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुवाहक सवारीसाधनका यात्रु चढाउने तथा झार्ने काम केन्द्रीय बसपार्कमा गरी चौबीसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ। पश्चिम जाने यात्रुवाहक सवारीसाधनले केन्द्रीय बसपार्कबाट यात्रु चढाउने तथा झार्ने गरी जानुपर्ने नियम बनाइएको छ।

यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने सवारीसाधनको पार्किङस्थल नारायणगढ बसपार्क हुनेछ। भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथरसम्म जाने यात्रुवाहक बसका लागि पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ। नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ। काठमाडौँ, पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुवाहक सवारीसाधन ट्रक, लहरी, टिप्परजस्ता मालवाहक सवारीसाधनलाई आँपटारीबाट नारायणगढ बजारतर्फ जान निषेध गरिएको छ। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  महानगर सुन्दर बनाउने परिकल्पनाअनुसार ट्राफिक व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो। 

“जताततै बाहिर छरिएर राखिने सवारीसाधनका कारण सहरको सुन्दरतामा ह्रास आएको थियो। यसले आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गरिएको हो,” उहाँले भन्नुभयो।