• १३ मंसिर २०८१, बिहिबार

प्रचण्डको राजनीतिक यात्रा

blog

काठमाडौँ, पुस ११ गते । नवनियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जन्म वि.सं. २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिनुभयो। 

२०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय शिवनगरबाट एसएलसी परीक्षा उत्तीर्ण हुनुभएका उहाँले २०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी पूरा गर्नुभयो। उहाँ २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट बीएस्सीएजी उत्तीर्ण हुनुभयो। स्नातकोत्तर तहमा एमपीए उत्तीर्ण गर्नुभएका उहाँ कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल बन्नुभएको थियो। उहाँ २०३८ देखि २०६३ सालसम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो। हाल उहाँ आफू पुष्पकमलभन्दा ‘प्रचण्ड’ भनिनुमा नै गौरव गर्नुहुन्छ।

२०१९ सालमा कास्कीको ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगरमा बसाइँसराइ गर्नुभएका प्रचण्डको २०२६ साल वैशाखमा सीता पौडेलसँग विवाह भएको थियो। उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ। उहाँले २०२९ सालदेखि चितवनको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, नवलपरासीको डन्डा माध्यमिक विद्यालय र भीमोदय माध्यमिक विद्यालय आरुघाटमा अध्यापनसमेत गर्नुभएको थियो भने २०३२ सालमा यूएसएडमा पनि काम गर्नुभएको थियो। 

२०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएर राजनीतिक जीवन प्रारम्भ गर्नुभएका नवनियुक्त प्रधानमन्त्री प्रचण्डले २०३१ सालमा बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो। उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो। २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० सालमा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

२०४१ सालमा नेकपा (मसाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका प्रचण्ड २०४२ सालमा पोलिटब्युरो सदस्य, २०४६ सालमा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्री)को महामन्त्री बन्नुभएको थियो। २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएको थियो। प्रचण्डले २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको नेतृत्व गर्नुभएको थियो। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो।

२०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो। उहाँ २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो। २०६९ सालमा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो। २०६९ सालमा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पार्टीको अध्यक्ष बन्नुभएको थियो। २०७० सालमा विराटनगरमा सम्पन्न एकता महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभयो। उहाँले उच्च स्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ। 

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचना (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनालगायतका पुस्तक प्रकाशित छन्। उहाँ २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो। उहाँ पहिलो पटकको संविधान सभाको निर्वाचनपछि २०६५ सालमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। संविधान सभाको दोस्रो निर्वाचन २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित हुनुभएको थियो। उहाँ २०७३ साल साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त गरी दोस्रो पटक मुलुकको ३९औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो। उहाँ २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ तथा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको हो। प्रधानमन्त्रीका रूपमा उहाँको यो तेस्रो कार्यकाल हो।