राममणि दाहाल
हेटौँडा, पुस १० गते । नागरिकको सुरक्षा दिने जिम्मा पाएको प्रहरी मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित जितपुर भन्ज्याङको थुम्कोमा टहरोमा असुरक्षित रूपमा बस्दै आएका छन्। जिल्ला सदरमुकाम हेटौँडाबाट करिब १५ किलोमिटरको दूरीमा रहेको काठ र जस्ताले घेरेर बनेको अस्थायी प्रहरी पोस्टमा प्रहरी कर्मचारी १५ वर्षदेखि बस्न बाध्य हुँदै आएका हुन्।
स्थानीय बासिन्दासँग मागेर बनाएको टहरो जीर्ण हुँदासमेत स्थायी भवन नबन्दा वर्षा र हिउँद दुवै समयमा प्रहरीले सास्ती खेप्नु परेको छ। हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा अवस्थित अस्थायी प्रहरी पोस्टका प्रहरीका लागि बाह्रै महिना खानेपानीको उस्तै समस्या छ।
अस्थायी प्रहरी पोस्टमा चार महिनाअघि आउनुभएका हबलदार राजकुमार महतो भन्नुहुन्छ, “बस्ने बास जीर्ण त छँदै छ खानेपानीको समस्या त अझ कहालीलाग्दो छ। प्रहरी पोस्ट भएको स्थानमा धारा छैन, पोस्टबाट दुई सय मिटर पर रहेको कुवाको पानीमा भर पर्नुको कुनै विकल्प छैन।”
केही प्रहरी कर्मचारीको बिहान त पानी ओसार्दैमा जान्छ, कुवाबाट ल्याएको पानी खान, नुहाई धुवाइ र शौचालयमा प्रयोग गर्ने गरिएको छ। वर्षायाममा प्रहरी पोस्टको जस्तामा परेको पानी सङ्कलन गरेर लुगा धुनुपर्छ तर हिउँदमा मात्र होइन वर्षायाममा पनि कुवाकै खानेपानीले गुजार्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो।
टहरोको विकल्पमा भवन निर्माण गर्न स्थानीय सरकारसँग माग र प्रयास गरे पनि सफल नभएको बताउँदै उहाँले जग्गाको समस्याका कारण भवन निर्माण हुन नसकेको बताउनुभयो। वन क्षेत्रको जग्गामा टहरो बनाएको र उक्त जग्गामा भवन बनाउन वनले स्वीकृति नदिएकाले पनि स्थायी भवन निर्माण हुन नसकेको उहाँले बताउनुभयो। मकवानपुरगढी इलाका प्रहरी कार्यालय मातहत रहेको उक्त प्रहरी पोस्टको मकवानपुरगढी गाउँपालिकाको वडा नं. २ र ७ तथा बकैया गाउँपालिकाको वडा नं. ११ र १२ कार्य क्षेत्र रहेको छ।
कान्ति लोकपथमा हुने सवारी दुर्घटनामा उद्धारदेखि गाउँघरमा हुने विवादमा सहयोग र सहजीकरण गर्दै आएको अस्थायी प्रहरी पोस्ट खानेपानी र भवनको समस्या मात्र होइन सवारीसाधन र सूचना प्रविधिको पहुँचमा समेत छैन। राजमार्गमा दुर्घटना हुँदा उद्धारदेखि स्थानीयलाई समस्या परेर जानु पर्दा अरूको सवारीसाधनमा भर पर्नुपर्ने र सहयोग माग्नुपर्ने अवस्था छ।
निर्णय कार्यान्वयनमा ढिलाइ
२०६४ साल चैतमा स्थापना भएको सो प्रहरी पोस्टमा नयाँ भवन बनाउन दुई वर्षअघि २०७७ साल मङ्सिर १९ गते मकवानपुरगढी र बकैया गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयको बैठकले मकवानपुरगढी–२, जितपुर भन्ज्याङस्थित अस्थायी प्रहरी चौकीको भवन निर्माण गर्ने निर्णय भए पनि कार्यान्वयनमा आएको छैन।
मोहरे ढुङ्गेगढी टोल विकास संस्थाका अध्यक्ष सुधारजित गोलेको अध्यक्षतामा बसेको बैठकमा मकवानपुरगढी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष हर्कमाया रुम्बालगायतका जनप्रतिनिधिको उपस्थिति थियो । बैठकले प्रहरी चौकी निर्माण गर्न मकवानपुरगढी गाउँपालिकासँग पाँचदेखि १० लाख रुपियाँ र बकैया गाउँपालिकासँग आर्थिक सहयोग माग गर्ने निर्णय गरेको थियो। साथै प्रहरी भवनको घडेरी खार्न शिवम् सिमेन्ट उद्योगले इन्धनसहित एक्साभेटर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। प्रहरी पोस्टमा आफूसहित हाल पाँच जना प्रहरी रहेको बताउँदै हवल्दार महतोले पालिकालाई पत्रसहित भवन निर्माण गर्न आग्रह गरिएपछि निर्माणको निर्णय भए पनि निर्माण प्रक्रिया सुरु हुन नसकेको बताउनुभयो।
मकवानपुरगढी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बखानसिंह पाख्रिनले प्रहरी भवन बनाउने जग्गा वन क्षेत्रमा पर्ने भएकाले स्वीकृति लिन झन्झट रहेको बताउनुभयो। प्रहरी हबलदार महतोले जस्तै वडाध्यक्ष पाख्रिनले जिल्लाका प्रहरी प्रमुख फेरिइरहने र नयाँ आउनेलाई बुझाउन समय लाग्ने गर्दा समस्या भएको बताउनुभयो। उहाँले अस्थायी प्रहरी पोस्ट बनाउन गाउँलेसँग काठ मागेको र कार्यालयका लागि कुर्सीदेखि खाटसम्म व्यवस्था गरिदिएको बताउनुभयो। तीनकोठे जीर्ण अस्थायी प्रहरी पोस्ट भान्साघर, सुत्ने कोठादेखि कार्यालयसम्म सञ्चालन हुँदै आएको छ।